कृष्ण मोहन साह
सेढवा – 

 

 

पछिल्लो समय ठोरी गाउँपालिका र यस आसपासका क्षेत्रमा सर्पको बिगबिगी बढ्न थालेको छ । गर्मी मौसमको सुरुवात र पटकपटक पानी परेकाले यसक्षेत्रमा सर्पदंशको बिरामी पनि बढ्न थालेको हो । स्थापना भएको एक महिना बित्न नपाउदै ठोरी गाउँपालिका–४ मा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आउने सर्पदंशको बिरामीको संख्या बढ्दै गएको छ ।

 

 

गत फागुन मसान्तमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा करीब एक महिनाको अवधिमा ७ जना सर्पदंशका बिरामी उपचारका लागी आएको सो उपचार केन्द्रले जनाएको छ । चितवनको माडी नगरपालिका – ९ का १ जना , जीराभवानी गाउँपालिका –१ का एक जना र ठोरी गाउँपालिकाका ५ जना गरेर ७ जना सर्पदंशका बिरामी सो उपचार केन्द्रमा उपचार पश्चात निको भएर घर फर्केको उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं निर्मल मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए ।

 

 

अधिकांश सर्पदंशका बिरामीहरुलाई बिषालु सर्पले टोकेर उपचार गर्न आउने गरेको उपचारमा संलग्न नेपाली सेनाका प्राविधिकहरु बताउँछन् । केहि सर्पदंशका बिरामी सर्पले डस्ने बित्तिकै झारफुक गर्न धामी झाँक्रीकोमा जाने गरेकोले उपचारमा ढिलाई हुने गरेको प्राविधिकहरुको भनाई छ । सुरुका दिनमा आउने सर्पदंशका बिरामीहरु उपचार केन्द्र नयाँ भएकाले निको नहोला भनेर डराउने गरेको भएपनि अहिले विस्तारै विश्वास गर्न थालेको उनीहरु बताउँछन् ।

 

 

ठोरी गाउँपालिकाको आर्थिक सहयोग तथा निर्मल मध्यवर्ती र कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिको व्यवस्थापनमा नेपाली सेनाले स्थापना गरेको सर्पदंश उपचार केन्द्रमा हाल नेपाली सेनाका दिल बहादुर खड्का र ओम कुमार राई सर्पदंश उपचारमा कार्यरत छन् ।

 

 

 

ठोरी र यस आसपासका क्षेत्रमा विषालु सर्पको बिगबिगी र सर्पदंशका बिरामीले समयमै उपचार नपाएर ज्यान जान थालेपछि गत फागुन २५ गतेदेखि पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले ठोरी गापा , स्थानीय निर्मल र कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा सर्पदंश केन्द्र स्थापना गरेको हो ।

केहि वर्षयता सर्पदंशका बिरामी उपचारमा ढिला गरेर बिरगंज र भरतपुर पुग्नुपर्ने बाध्यताका कारण ठोरीमा अकालमा ज्यान गुमाउनेको संख्या बर्सेनी बढ्दै गएको थियो । सर्पले डस्ने बित्तिकै अधिकांश झारफुकमा लाग्ने र समयमै उपचार गर्न टाढा जानुपर्ने बाध्यात्मक स्थितिका कारण स्थानीयले अकालमा ज्यान गुमाउने गरेका थिए । सेनाको सिद्धिबक्स गुल्म पानी ट्याङ्कीमा रहेको उक्त उपचार केन्द्रमा सबै प्रकारको सर्पदंशको उपचार हुने सेनाले जनाएको छ । हाल उक्त केन्द्रमा पर्याप्त एन्टीस्नेक भेनमको व्यवस्था गरिएको सेनाको भनाई छ ।

Leave a Reply