निजगढ,निजगढ ९ स्थित तिलंगगा सामुदायिक आँखा अस्पताल र ओपन आई नेपालको आयोजनामा शुक्रवार बालवालिकाहरुको आँखामा हुने रेटिनोब्लास्टोम (एक प्रकारको क्यान्सर) रोगको बारेमा जनचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा निजगढका स्वास्थ्यकर्मीहरुलाई ५० थान आर्कलाईट वितरण गरिएको छ ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको आतिथ्यतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिका क्षेत्रका ५० जना स्वास्थ्यकर्मीहरुलाई बालबालिकको आँखामा हुनसक्ने क्यान्सर रोग पत्ता लगाउने उपकरण आर्कलाईट वितरण गरिएको हो । सो कार्यक्रममा रेटिनोब्लास्टोम रोगको बारेमा तिलगंगा आँखा अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ चिकित्सक पूर्णिमा राजकर्णिकारले जानकारी गराउनुभएको थियो भने नगर प्रमुख पुरीले कार्यक्रमको औचित्य र तालिमका लागि निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले खेलेको भुमिकाको प्रसंसा गर्नुभएको थियो ।कार्यक्रममा निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले स्वास्थ्य उपकरण र तालिमबाट स्वास्थ्यकर्मीहरुको कार्य क्षमतामा अभिवृद्धि हुने र प्रभावकारी सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो ।















