जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको स्वास्थ्य चौकीको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ। एक कार्यक्रमबीच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले धामिर्क विधि पूर्वक पूजापाठ गरी शनीवार पर्खाल निर्माणको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले आफ्नो संसदीय क्षेत्रका जनताको मागलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको बताउनुभएको छ ।स्थानीयवासीहरूले उठाएका आवश्यकता अनुसार यो योजना अघि बढाइएको हो, यस वर्षको संसदीय कोषबाट हालसम्म १४ वटा योजनाको शिलान्यास भइसकेको चौधरीले बताउनुभयो ।
सांसद चौधरीका स्वकीय सचिव रविन्द्र खकुरेलका अनुसार बाँकी वडाहरूमा पनि चालु वर्षकै बजेटमा योजना समावेश गरिने छ। चौधरीको संसदीय कोषबाट करिब २५ लाख रुपैयाँको लागतमा बकुलिया स्वास्थ्य चौकीको पर्खाल निर्माण हुन लागेको हो। शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले स्वास्थ्य चौकीको सुरक्षा र सेवा विस्तारका लागि पर्खाल निर्माण अत्यावश्यक रहेको बताउनुभएको थियो ।


















