हुनत अहिले बारा र पर्साको कुरा गर्ने हो भने खासै कोरोनाका संक्रमतिहरु छैनन् । अथवा संक्रमणमको अवस्था कमै छ । तर यसो भन्दैमा ढुक्क हुने अवस्था पनि छैन । कोरोना संक्रमणको तेस्रो लहर फैलने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो । अहिले सरकारले नै १७ जिल्लालाई उच्च जोखिममा राखेको छ । दैनिक संक्रमित र मृतकको संख्या थपिएकाले केही जिल्लाका स्थानीय तहले निषेधाज्ञासमेत लगाउन सुरु गरेका छन् ।

दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौंको ज्यान लिएको थियो । पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको संक्रमण छिटो फैलँदा लक्षणसहितका संक्रमितसँगै मृतकको संख्या उच्च थियो । निरन्तरको निषेधाज्ञाले कोरोना संक्रमणदर घट्दै गएको समयमा पुनः खुकुलो पार्दा संक्रमण तेस्रो पटक फैलने चरणमा पुगेको छ ।

फरक–फरक समयमा कोरोनाको पनि नयाँ भेरियन्ट थपिने भएकाले अब फैलिए अझै जोखिम बढी हुने स्वास्थ्यविज्ञले चुनौति दिइरहेका छन् । एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने हो । संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ । त्यसका लागि भरपर्दो विकल्प भनेकै खोप हो । तर, हालसम्म सबै उमेर समूहका नागरिकभन्दा जोखिममा बढी हुने निश्चित उमेर समूहकाले पनि पूर्णरूपमा खोप लगाउन पाएका छैनन् । कतिले पहिलो चरणको खोप लगाएको पाँच महिना बितिसक्दासमेत दोस्रो खोप लगाएका छैनन ।

सरकारले तोकेको खोप लगाउने उमेर समूहले पनि भीडमा ठेलामठेल गर्दै खोप लगाउन जाँदा संक्रमण त्यहीँबाट फैलने जोखिम पनि उतिकै छ । धेरै नागरिक खोप केन्द्र टाढा हुँदा खोपबाट वञ्चित छन् । कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन् । सरकारले घर–घरमा गएर खोप लगाइदिने रणनीति तयार गरेको छैन। यो विषयमा कार्यविधि बनेको पनि छैन । त्यसकारण खोपबाट धेरै नागरिक अझै वञ्चित हुने सम्भावना छ ।

Leave a Reply