सिम्रौनगढ,ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्व बोकेको बारा जिल्लाको सिम्रौनगढ नगरपालिका– ४ हरिहरपुरस्थित पलकियामाई क्षेत्रमा पुरातत्व विभागले शुरु गरेको उत्खनन कार्य जारी छ ।अघिल्लो पाँच दिनदेखि जारी उत्खननका क्रममा महत्वपूर्ण संरचना र जानकारीहरू फेला परेको उत्खनन कार्यमा संलग्न अधिकारीहरुले बताएका छन् । स्थानीय पुरातत्व विज्ञ भरत साहका अनुसार पलकियामाई परिसरमा पुराना इट्टाले छापेको आँगन भेटिएको हो । त्यस्तै उक्त क्षेत्रमा रहेको खाल्डोको उत्तरतर्फ रहेको जस्तै दुई वटा स्तम्भजस्तो देखिने ढुङ्गे संरचना पनि सतहमा देखापरेको छ भने परिसरको उच्च भागमा विभिन्न किसिमका पुराना इट्टा र तिनका टुक्रा, दियो, भाँडाकुँडा, प्रस्तर मालाको दाना र वास्तुका थुप्रै अंशहरू भेटिएका छन् । मन्दिरमा प्रयोग हुने अमलकको टुक्रा भेटिएको हुँदा यस क्षेत्रमा मन्दिर हुनसक्ने प्रारम्भिक सङ्केत फेला परेको साहले बताउनुभयो ।

जमिनमुनि रहेका पुरातात्विक संरचनाहरूको प्रकृति र इतिहास उजागर गर्न उत्खनन थालिएको साहले जानकारी दिनुभयो । जिओफिजिक्स सर्वेक्षणले पलकियामाई क्षेत्रलाई महत्वपूर्ण साइटको रूपमा पहिचान गरेको विभागका पुरातत्व विद्व अधिकृत हरिप्रसाद भुसालले बताउनुभयो ।सिम्रौनगढको नेपालको इतिहासमा १२औँ शताब्दीमा राजा हरिसिंह देवको शासनकालसँग सम्बन्धित छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले विशिष्ट स्थान मानिन्छ । पलकियामाई क्षेत्र धार्मिक आस्थासँगै पुरातत्व अध्ययनका लागि पनि अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।

उत्खनन कार्यले सिम्रौनगढको पुरातन महत्व पुष्टि गर्दै यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यसको माध्यमबाट क्षेत्रको सांस्कृतिक धरोहर उजागर हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा छ ।
नेपाल सरकारको पुरातत्व विभाग काठमाडौँबाट आएको तीन सदस्यीय टोलीले गत मङ्सिर ७ गते शुक्रवारदेखि औपचारिक रूपमा यस क्षेत्रमा उत्खनन सुरु गरेको हो । पुरातत्व विभागका अधिकृत भास्कर ज्ञवालीको नेतृत्वमा रहेको टोलीमा पुरातत्व विज्ञ देवेन्द्रनाथ तिवारी, पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र सहायक छविकार नर्मदा श्रेष्ठ सहभागी छन् ।उत्खनन कार्य आगामी २१ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारसहितका पदाधिकारीहरूले सोमवार उत्खनन क्षेत्रको स्थलगत भ्रमण गरेका थिए ।

Leave a Reply