बसन्त लामा

सिगौंल,जथाभावी प्लटिङ्ग हुन थालेपछि निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ को सिगौलमा खेतीयोग्य जमिन खण्डीकरण हुने क्रम बढेको छ ।

गाउँमा जमिनको मूल्य बढेसंगै खेतीयोग्य जमिन पनि प्लटिङ्ग गरेर सडक निर्माण गर्ने र बिक्री गर्ने क्रम बढेको हो । जग्गाको मूल्य बढी पाइने लोभमा किसानले जमिन चिरा पारेर खेतीयोग्य जमिनमा सडक बनाएका छन । खेतीयोग्य जमिन प्लटिङ्ग गरेर घडेरी बिक्री गर्न जमिनको कारोबार गर्ने गिरोह यस क्षेत्रमा सक्रिय देखिएको छ । सिगौलस्थित वडा नम्बर १ मा पर्ने अधिकांश नम्बरी जग्गा अहिले प्लटिङ्ग गरेर टुक्रा पारिएको छ । वडा नम्बर २ र ३ मा भने खेतीयोग्य ऐलानी जमिनमा पनि चिरा पारिएको छ । यसरी प्लटिङ्ग गरिएको जमिनमा व्यवसायीहरुले सडक निर्माण गरेर गिटीबालुवासमेत हालेका छन । केही स्थानमा भने प्लटिङ्ग गरिएको जमिनमा वडा कार्यालयको बजेट प्रयोग गरेर सडक निर्माण गरिएको पाइएको छ । प्लटिङ्ग गरिएको जमिनको सडक निर्माण गर्न वडा कार्यलयको बजेट प्रयोग हुन थालेपछि जग्गाको कारोबारीहरुसंग जनप्रतिनिधिहरुको पनि मिलिमतो रहेको आशंका गरिएको छ ।

Leave a Reply