आरके राजन
सिम्रौनगढ,मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज)ले सिम्रौनगढको महत्व उजागर गर्दै ‘सिम्रौनगढ नभएको नेपाल नै नहुने’ बताउनुभएको छ ।समाजिक न्याय विद्यार्थी निकेतनद्वारा आयोजित तेस्रो संगोष्ठीलाई सम्बोधन गर्दै उहाँले सिम्रौनगढको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वबारे चर्चा गर्नुभएको हो ।

उहाँले दिल्लीका बादशाह ग्यासुद्दिन तुगलकद्वारा सिम्रौनगढमाथि गरिएको आक्रमणको स्मरण गराउँदै त्यहाँका वीर सैनिकहरूले अन्तिम क्षणसम्म लडाइँ लडेका उल्लेख गर्नुभयो। साथै, इतिहासलाई नसम्झिने कुनै पनि समाजको भविष्य अन्धकारमय हुने चेतावनीसमेत दिनुभयो।

सिम्रौनगढस्थित ओम पार्टी प्यालेसको सभाकक्षमा आयोजित उक्त संगोष्ठीमा मधेस विश्वविद्यालयका उपकुलपती दीपककुमार शाक्य, पाटन उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की, रौषणकुमार झा, निर्मला लामा, युवराज सङ्ग्रौला लगायतले सिम्रौनगढको ऐतिहासिक, सामाजिक, आर्थिक तथा पुरातात्विक पक्षबारे विचार प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सिम्रौनगढसम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो। सो अवसरमा काठमाडौं स्कुल अफ ल, वीरगञ्ज स्कुल अफ ल, हरी खेतान क्याम्पस वीरगञ्ज, ममता विद्यामन्दिरका छात्रछात्रासहित ८७ जना सहभागी भएका थिए।
दीक्षा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृतिका खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य बीरेन्द्रप्रसाद यादवले दिनुभएको थियो। साथै, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद साह तथा प्रमुख प्रशासकीय अधिकृत हरिओम साहले प्रमुख अतिथि राजेश झालाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

Leave a Reply