काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापती चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । उहाँलाई अनुशासनको कारबाही स्वरुप पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले करिब १५ दिन अगावै पार्टीको प्रदेश कार्यसमितिले उहाँको जिम्मेवारी हेरफेर गरेको जानकारी दिनुभयो । ‘उहाँलाई प्रदेश सभापतिले जिम्मेवारी हेरफेर गरेर प्रदेश समितिको सदस्यमा राखेको छ ।’ उहाँले भन्नुभयो ।

चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुव्र्यवहार गरेको तथा नशालु पदार्थ सेवन गराइ करणी गरेकोभन्दै पार्टी केन्द्रीय समितिमा उजुरी परेको थियो । उक्त उजुरीउपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो ।छलफलमा ती महिलासहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यहरू पनि राखिएको अनुशासन आयोगले बताएको छ । अनुशासन समितिले ‘उक्त विषय फौजदारी न्यायको विषय भएको र अनुशासन आयोगको क्षेत्राधिकारभित्रको विषय समेत नभएको’ ठहर गरेको थियो ।

यस्तै चन्दनको आचरण राजनीतिक प्रकृतिको नभएको र सीमा क्षेत्रमा अवैधानिक रूपमा पैठारीको काममा संलग्न रहेको आरोप पनि लागेको थियो । जसमा अनुशासन समितिले ‘स्वर्णकारको के कमजोरी छ भन्नका लागि यथेष्ट आधार र प्रमाण देखिएको र उक्त काममा संलग्न रहेको’ उल्लेख गरेको छ ।यस्तै उजुरीकर्ता महिलाको आचरण तथा व्यवहारका सम्बन्धमा विचार गर्दा निजको आचरण समेत राजनीतिक रूपमा स्वीकारयोग्य नभएको अनुशासन आयोगले निष्कर्ष निकालेको छ । अनुशासन आयोगले चन्दन स्वर्णकारलाई पार्टी विधान विपरीत कारबाही गर्न र एक वर्षका लागि साधारण सदस्य समेत नरहने नगरी अनुशासन आयोग नियमावलीको नियम ५ बमोजिम साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ ।
‘स्वर्णकारको आचरण प्रदेश अनुशासन आयोगमार्फत अनुगमन गरी ६-६ महिना प्रतिवेदन पेस गर्ने र आचरणमा उल्लेख्य सुधार आएको देखिएमा निजलाई गरिएको कारबाहीमाथि पुनर्विचार गर्न सकिने’ भनी आयोगले लेखेको छ । साथै उजुरीकर्ता महिलालाई पनि १ वर्षसम्म पार्टीको कुनै जिम्मेवारी लिन तथा आन्तरिक राजनीतिक प्रतिस्पर्धाहरूमा भाग लिन नपाउने गरी सजाय गर्ने आयोगले निर्णय गरेको छ ।

Leave a Reply