नेपालमा गणतन्त्र घोषणा भएको लामो समय भएको छैन । कुरै गर्ने हो भने अहिले केही समूहले राजा देखेको पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदेन्द्रभन्दा केही कम उमेरको मात्र गणतन्त्र भएको छ । अब यति छोटो समयमा सडकमा किन राजाको पक्षमा नारा लाग्यो भन्ने कुरा महत्वपूर्ण छ । त्यसो त राजको पक्षमा नारा लगाउदैमा नेपालमा राजसंस्था आउने पनि होइन र सो कार्य त्यति सजिलो पनि छैन ।
राजाको चाहना राख्नेहरुले गणतन्त्रवादीको पनि त मन बुझाउन आवश्यक हुन्छ नि । फेरि सेना नै लगाएर शासन गर्ने भए त फरक कुरा नत्र राजा त सबैको साझा हुनुपर्दछ तर नेपालका मात्र एटा दलभन्दा अरु राजतन्त्रको पक्षमा छैनन् ।
त्यसैले राजगद्दीको सपना देख्ने कथित महाराजाहरुले पनि यो कुराको ख्याल गर्न आवश्यक छ कि बहुसंख्यक जनता राजाको पक्षमा अहिले छैनन् भविष्यमा भएको खण्डमा त्यसको हिसाव होला नै । तर सडकमा राजाको पक्षमा नारा लगाउने अवस्थाको सृजना चैं यिनै दलहरुले गरेका हुन् । मुख्य त गणतन्त्रवादी भनिएको माओवादी अनि एमाले, कांग्रेसका कारण नै हो ।
गणतन्त्रको नाउमा यिनीहरु आफ्नो स्वार्थका लागि जे गरिरहेका छन् । मण्डले भनिएकाहरुलाई आफ्नो पार्टीको चुनाव चिन्ह दिएर चुनावमा उठाउछन् अनि सत्ताका लागि राजावादी भनिएकाहरुसंग तत्काल सहकार्य गर्छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार यिनै दल र तिनका नेताका कारण सडकमा राजाको पक्षमा नारा लागेको हो अब पनि दलहरु सुध्रने संभावना देखिदैन त्यसैले यस्तो अराजकता देशमा जारी नै रहनेछ र यसले देशको भविष्य अन्धकार चैं बनाउने निश्चित छ ।















