बसन्त लामा
सिंगौल,विश्व रक्तदान दिवसको अवसरामा निजगढ नगरपालिका वडा नम्बर १ को आयोजनामा शनीवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।निजगढ प्राथमिक स्वास्थ्य केन्द्रको सहआयोजनामा भएको सो एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको पिसाब, १ सय ४० जनाको ब्लड प्रेशर १ सय ३३ जनाको आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरी शिविरमा २२ जनाले मानसिक स्वास्थ्य समस्यासम्बन्धि परीक्षण र परामर्श सेवा लिएका थिए ।शिविरमा आँखा परीक्षण गराइएका मध्ये १६ जनामा मोतियाबिन्दु फेला परेको आँखा रोग विशेषज्ञ गजेन्द्र महतोले जानकारी दिनुभयो ।शिविरमा ल्याब टेक्निसियन अनिलकुमार चौधरी र सम्झना चौधरीले रगत र पिसाबको परीक्षण गर्नुभएको थियो भने चिकित्सक दिपेन्द्रप्रसाद यादवले हाडजोर्नी तथा नशा र मानसिक रोग विशेषज्ञ चन्दन चौधरीले मानसिक रोग सम्बन्धि परीक्षण र बिरामीहरुलाई परामर्श प्रदान गर्नुभएको थियो ।
शिविरमा युथ अफ निजगढ र स्थानीय राजनीति दलका कार्यकर्ता, समाजसेवी, युवा क्लब, महिला समूहका पदाधिकारी र वडा सदस्यहरुले स्वयमसेवी भूमिका निर्वाहा गरेका थिए ।स्वास्थ्य शिविरबाट स्थानीयको स्वास्थ्य प्रबद्र्धनमा मद्दत पुग्नुको साथै स्थानीय सरकार र समुदायबीचको सम्बन्ध अझ प्रगाढ पार्न मद्दत पुग्ने वडा अध्यक्ष मगले लोप्चनले बताउनुभयो ।



















