निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले उपभोक्तासंग निकट रहेर काम गर्नुपर्ने बताउनुभएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगरको आयोजना तथा निजगढ नगरपालिका र महासंघ बाराको सहयोगमा बिहीवार निजगढमा भएको वनसम्बन्धि कानुनी व्यवस्था, समुह र स्थानीय तहको भूमिका विषयक अन्तक्रिया कार्यक्रमा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।नगर प्रमुख पुरीले निजगढ नगरभित्रका वन समुहमा रहेका समस्या पहिचान गरेर समाधानको उपाय खोज्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै समुहभित्र देखिएका समस्या हल गर्न निजगढ नगरपालिका सदैब तत्पर रहेको पनि बताउनुभयो । ‘सामुदायिक वन समुह प्राकृति स्रोतको न्यायोचित वितरणको लागि गठन भएको संस्था हो, नगर प्रमुख पुरीले भन्नुभयो, उपभोक्ताहरुले आफ्नो वन क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतहरुको संरक्षणसंगै उपभोग पनि गर्न पाउनुपर्छ ।’ उपभोक्ताहरुले आवश्यकता अनुसार वन पैदवार र प्राकृतिक स्रोतको प्रयोग गर्न पाएनन भने त्यसको संरक्षणमा पनि चासो नदिने नगर प्रमुख पुरीको भनाई थियो ।वन समुहले उपभोक्ताहरुको आवश्यकता र चाहना पुरा गर्न सकेन भने वन संरक्षणमा उपभोक्ताले चासो नदेखाउन सक्ने भन्दै उहाँले यसको लागि समितिका पदाधिकारीहरुले उपभोक्ताहरुसंग निकट रहेर पारदर्शीता र विधिसम्मत रुपमा काम गर्नुपर्ने बताउनुभयो ।नगरका धेरै वन समुहमा समस्या रहेको नगर प्रमुख पुरीको भनाई थियो । उहाँले वन समुहलाई सहजीकरण गर्न नगरपालिकाले अधिकृत स्तरको वन प्राविधिक नियुक्त गर्न लागेको पनि जानकारी दिनुभयो । ‘प्राविधिक कर्मचारीको अभावमा पनि समुहले काम गर्न सकेका छैनन, उहाँले भन्नुभयो, वन कर्मचारी नियुक्तिपछि समुहमा अहिले देखिएका अधिकांश समस्या हल हुनेछन ।’कार्यक्रममा डिभिजन वन कार्यालय बाराका वन अधिकृत जवाहर कुर्मीले वन संरक्षणको लागि सामुदायिक वन उपभोक्ता समुहहरु सक्षम हुनुपर्ने बताउनुभयो । धेरैजसो समुहका पदाधिकारीहरु कानुनी र प्राविधिक विषयमा अनभिज्ञ रहेकोले पनि सामुदायिक वन व्यवस्थापनमा समस्या उत्पन्न भएको र समुहमा पनि वन कर्मचारीहरु हावी भएको उहाँको भनाई थियो ।‘वन समुह सक्षम नभएसम्म कर्मचारहरु हावी भइनैरहनेछन, अधिकृत कुर्मीले भन्नुभयो, तपाईहरुले काम गर्नसक्नु भएन भनेर कर्मचारीले पनि त्यसै छोडन मिल्दैन ।’ उहाँले कर्मचारीले उपभोक्ताहरुको सेवा र सहजीकरणको लागि काम गर्ने पनि बताउनुभयो ।नगर सामुदायिक वन समुहका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले वनसम्बन्धि कानुनी व्यवस्थाको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिका वन तथा वातावरण समितिका संयोजक एंवम कार्यपालिका सदस्य सूर्य घलानलगायत निजगढका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरुहरुले आआफ्नो समुहमा देखिएका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रमका अधिकांश सहभागीहरुले वन कर्मचारीहरुले सहज सेवा प्रदान नगर्दा समुहको कार्ययोजना नवीकरण हुन नसकेर आफूहरुले वन संरक्षणको क्षेत्रमा काम गर्न नसकेको गुनासो गरेका थिए ।निजगढ नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समुहलाई वन सम्बन्धि कानुनी व्यवस्थाको जानकारी गराउने र समुहको सशक्तीकरण गरेर वन संरक्षण र उपभोक्ताको आयआर्जन बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर संघका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Leave a Reply