अहिले देशभर नै जसो देखिएको विद्युत आपूर्तिको समस्या समाधानका लागि बारामा पहल शुरु भएको छ । बाराका प्रमुख जिल्ला अधिकारीको पहलमा मंगलवार जिल्लाका राजनीतिक दल लगायतसंग यो विषयमा छलफल भएको छ । वास्तवमा पछिल्लो समय विद्युतको समस्याबाट देशभरिका नागरिकहरु प्रताडित भएको कुराहरु सामाजिक संजालमा नै आएका छन् । वीरगञ्जमा आविष्कार केन्द्र संचालन गर्दैआइरहनु भएका वैज्ञानिक महावीर पुनले त ऊर्जा मन्त्रीप्रति आक्रोश नै पोख्नुभएको छ । यो भनेको देशका सबै नागरिकहरु समस्यामा छन् भन्ने कुरा नै हो ।
सरकार वा विद्युत प्राधिकरण यो विषयमा कहिले गम्भीर बन्ला र जवाफ देला यो त गर्भको कुरा भयो तर बाराका प्रमुख जिल्ला अधिकारीले जे भएपनि जिल्लाबासीको समस्या सुन्ने जुन प्रयास गर्नुभयो, त्यो आफैमा राम्रो कुरा हो । जस्तै काठमाडौंकै नागरिकहरुका लागि पनि दिउसो विद्युत गइहाल्यो भने खासै समस्या नहोला तर तराई मधेशमा दिन न रात निकै समस्या हुन्छ । प्रचण्ड गर्मीको समयमा विद्युत कटौती भएपछि त सजायँ दिएको सरह नै हो जुन विगतमा पनि हुने गर्दथ्यो ।
त्यसैले पनि विद्युतमा देखिएको समस्याको स्थायी समाधान आवश्यक छ । बाराका सिडियोले आफूले चाहे अनुसार सबै कुरा पूरा गर्न पनि नसक्नु होला । फेरि विद्युत भनेको सिडियाको माताहातमा हुने कुरा पनि भएन । उहाँले गर्ने प्रयास राम्रो भएपनि विद्युत प्राधिकरण नै यो विषयमा गम्भीर बन्नुपर्दछ र स्थायी समाधानको उपाय निकाल्नुपर्दछ ।

















