लोसपाका नेता राजेशमान नेकपा एमालेमा प्रवेश गर्ने

वीरगन्ज,

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा वीरगन्जका नेता राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गर्नुहुने भएको छ । सिंहले बुधबार दिउँसो काठमाडौँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवासमा भेटघाट गरेर एमाले प्रवेश गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

सिंहले आगामी फागुन १४ गते केपी शर्मा ओलीको उपस्थितमा वीरगन्जमा एउटा भव्य कार्यक्रमकाबीच आधिकारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमाले वीरगन्ज महानगर कमिटीका सचिव सुन्दरप्रसाद कुर्मीले जानकरी दिनुभयो ।

स्रोतका अनुसार फागुन १४ कै कार्यक्रममा केपी ओलीले मञ्‍चबाटै सिंहलाई एमालेको तर्फबाट आगामी स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नगरप्रमुख पदको उम्मेदवार पनि घोषणा गर्नु हुनेछ ।

पार्टी प्रवेश गर्नका लागि सिंहले यही सर्त राखेको स्रोतको दावी छ । सिंहले यसअघि गत स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाबाट वीरगन्ज महानगरको नगर प्रमुखमा चुनाव लड्नु भएको थियो । सिंहसँगै लोसपा त्यागेर प्रेमबाबु पटेल, मुकेश द्विवेदीलगायतका कयौं लोकप्रिय व्यक्ति पनि एमालेमा प्रवेश गर्न लागेको एमाले नगर सचिव कुर्मीले बताउनुभयो । यद्यपि नेता सिंहले भने आफ्नो बिषयमा अनावश्यक प्रचार नगर्न आग्रह गर्दै केपी ओलीसंगको भेटका बारेमा चांडै पत्रकार सम्मेलन गरी जानकारी दिने बताउनुभएको छ ।
पार्टीबाट निस्काशन

वीरगन्ज,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पर्साले नेता राजेशमान सिंहलाई पार्टीबाट निस्काशन गरेको छ ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झाले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै नेता राजेशमान सिंहलगायत केहि व्यक्तिलाई पार्टीबाट निस्काशित गरिएको जनाउनु भएको छ ।

लोसपा गठन भएदेखि नै राजेशमान सिंहलगायतका नेताहरुको एउटा समूह पार्टीमा निस्क्रिय रहेको र निरन्तर पार्टी विरोध गतिविधि गर्दै आएको आरोप लगाउँदै उनीहरुलाई पार्टीबाट निस्काशित गरिएको विज्ञप्तिमा उल्लेख छ । रामबाबु पटेललाई पनि लोसपाले पार्टीबाट निस्कासन गरेको जनाएको छ ।

पार्टीको अनुशासन, विचार र सिद्धान्त विपरित गतिविधिमा संलग्न भएर मधेस आन्दोलन र अधिकार पहिचानको लडाईमा आघात पुर्याएको ठहर गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सिंहलाई निस्काशित गरिएको झाले विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ ।

एमाले प्रवेशको तयारी गरिरहनु भएका नेता सिंहलाई पार्टी परित्याग गर्नुभन्दा पहिला नै निस्काशित गरेर लोसपाले आफनो पार्टीको इज्जत जोगाउन खोजेको अनुमान गरिएको छ ।

यस बारे जानकारी गराउन सिंहले शुक्रबार ३ बजेदेखि पत्रकार सम्मेलनको पनि आयोजना गर्ने तयारी गर्नु भएको छ ।

Leave a Reply