सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ मा जारी व्यापार तथा सांस्कृतिक महोत्सवमा शनीवार राति प्रहरीले हस्तक्षेप गरेको छ ।ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) शुभद्रा लामा वाइबाको नेतृत्वमा राति ९ः ५ बजे गएको प्रहरी टोलीले गायक सुनिल पण्डितको प्रस्तुति भइरहेकै बेला माइक खोसेर तार चुडालेपछि कार्यक्रम अवरुद्ध बनेको थियो ।

सांगीतिक कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि दर्शकहरू आक्रोशित बनेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रोशित भीडले मेला स्थल र टिकट काउण्टरमा तोडफोड गर्नुका अन्य केही स्थानमा पनि ढुंगा–मुढा प्रहार गरेका थिए ।निर्धारित समयभन्दा ढिलो कार्यक्रम चलाएको भन्दै प्रहरीले हस्तक्षेप गरेर कार्यक्रममा रोक लगाएको हो । प्रहरीका अनुसार आयोजकलाई राति ९ बजेसम्म मात्रै कार्यक्रम गर्ने अनुमति थियो । तर तोकिएको समयभन्दा ढिलोसम्म कार्यक्रम संचालन गरेको पाइएपछि कार्यक्रममा रोक लगाउनु परेको डिएसपी लामाले बताउनुभयो । उहाँले रात्रीकालीन समयको शान्ति सुरक्षालाई ख्याल राखेर राति अबेरसम्म कार्यक्रम गर्न रोक लगाइएको बताउनुभयो ।महोत्सवको बिहीवार बारा क्षेत्र नम्बर ४ का सांसद किसान श्रेष्ठले एक समारोहबीच उद्धाटन गर्नुभएको थियो ।

Leave a Reply