कलैयामा जिल्लास्तरीय खोप समन्वय समितिको बैठक र अभिमुखीकरण कार्यक्रम
दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,
जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनमा सोमवार कलैयामा एच.पी.भी. खोप सम्बन्धि अभिमुखीकरण र जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष नरेन्द्रकुमार साहको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय कलैयाको सभाहलमासम्पन्न सो अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय बाराका रामनरेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत जितनप्रसाद चौधरी, नेपाल पत्रकार महासंघ शाखा बाराका अध्यक्ष रमेश सुवेदी, जिल्ला समन्वय अधिकारी आमोद चौधरीलगायत जिल्लाका संचारकर्मी, सुरक्षाकर्मी,नेपाल रेडक्रसका प्रतिनिधि, जिल्लाको खोप समन्वय समितिका पदधिकारीहरुर सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैठकमा यही माघ महिनाको २३ गतेदेखि फागुन ६ गतेसम्म दुई चरणमा जिल्लाका सबै स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्यनरत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीलाई एच पि. भी. खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बारामा कार्यरत डब्लुएचओका सुदिश अधिकारीले जानकारी दिनुभएको थियो ।
निजगढमा सरोकारवालाबीच अन्तरक्रिया
निजगढ,पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी.खोप अभियानअन्तर्गत निजगढ नगरपालिकामा सोमवार सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा निजगढ नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यही माघ २३ देखि २५ गतेसम्म एच.पि.भी. खोप लगाइने जानकारी गराइएको थियो । छात्राहरुको लागि विद्यालयमा नै खोप केन्द्र संचालन गरिने र विद्यालय नजाने किशोरीहरुलाई पायक पर्ने स्वास्थ्य संस्थाबाट एच.पि.भी.खोप लगाइने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख सुरत पुरीले खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न र खोपको बारेमा लक्षित समुदायलाई पर्याप्तसूचना प्रदान गर्नुपर्ने बताउनुभएको थियो । उहाँले खोपको जोखिम बारेमा सर्वसाधारणमा विभिन्न खालका भ्रम कायम रहेकोले यसको लागि सही सूचना प्रवाहाको जरुरी रहेको बताउनुभयो ।महिलाहरुको पाठेघरमा हुने क्यान्सर रोग विरुद्ध संचालन गर्न लागिएको सो कार्यक्रम अन्तर्गत निजगढमा विद्यालय जाने ३ हजार २ सय १४ र विद्यालय बाहिरका ७ सय ८५ जना किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिनुभयो । अभियान सफल पार्न निजगढमा ३३ जना स्वास्थ्यकर्मी र ३७ जना स्वास्थ्यकर्मी गरी ७० जना परिचालन गरिने स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिनुभयो ।नेपालमा हरेक वर्ष २ हजार १ सय ८७ जनालाई पाठेघरको मुखमा क्यान्सर हुने र यसबाट वर्षेनी १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको छ ।