काठमाण्डौ – नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । शनिवार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो ।नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए ।नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।
यो जितसँगै नेपालको ४ अङ्क भएको छ र फाइनल खेल्ने पक्का भएको छ । शृङ्खलाको अन्तिम खेलमा भोलि नेदरल्यान्ड्स र नामिबियाले खेल्नेछन् । नेदरल्यान्ड्सले जितेमा ६ अङ्कसहित ऊ नै फाइनलमा पुग्नेछ । तर नामिबियाले जितेमा भने नेदरल्यान्ड्सको रन रेट घट्नेछ । रन रेटका आधारमा नामिबिया र नेदरल्यान्ड्समध्ये एउटा टोली फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।


















