वीरगञ्ज,नयाँ लुगा किन्दिने प्रलोभन देखाएर एक नाबालिकलाई भारतको रक्सौलमा लगेर यौन धन्दामा लगाउने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका– १६ नगवाकी २४ वर्षीय आलिया खातुन रहेकी छन् ।आलियाले नगवाकै विपन्न परिवारकी अन्दाजी १४ वर्षीय एक नाबालिकालाई नयाँ लुगा किन्दिने र पैसा पनि दिने प्रलोभन दिएर वैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् । त्यहाँ आलियाले नाबालिकलाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौन धन्दामा लगाएकी थिइन् ।

छोरी घरबाट सम्पर्कविहीन भएपछि अभिभावकलेखोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि खोजतलासमा खटिएको प्रहरीले आलिया र नाबालिगका दुवै जना आलियाको घरमा रहेको शुक्रवार मध्यरातमा सूचना पाएको थियो ।शनिवार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलियाको घरमा पुगेर छापा मारेर बालिकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीसँगको बयानका क्रममा पीडित नाबालिगकाले आफूलाई आलियाले झुक्क्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरुष ग्राहकसँग पैसा लिएर आफूलाई यौन धन्दामा लगाएको बताएको एसपी मिश्रले जानकारी दिनुभयो ।
मिश्रका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेकी आलियाले यसभन्दा पहिला पनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौन धन्दामा लगाउने गरेको खुलेको छ ।प्रहरी हिरासतमा रहेकी आलियाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

मिश्रले आफूले पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हाले यताको पछिल्लो तीन महिनाको अवधिमा मात्रै जिल्ला प्रहरी कार्यालय पर्सामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा ८ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । उक्त मुद्दामा ८ जना पक्राउ परेको र तीमध्ये ५ जनालाई अनुसन्धान सकाएर पुर्पक्षका लागि कारागारमा पठाइएको र बाँकी ३ जना अनुसन्धानकै क्रममा प्रहरी थुनामा रहेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

Leave a Reply