कलैया,भारत पाकिस्तान द्वन्दका कारण बाराको सीमावर्ति नाकामा उच्च सतर्कता अपनाइएको छ ।
जिल्लाको मटिअर्वा नाका, सुवर्ण गाउँपालिकाको संतगञ्ज नाका, सिम्रौनगढ नगरपालिकाको बसवरिया नाका, नन्दसगराढाँट, सतुवाही, पचरौता नगरपालिकाको बेल्दारी नाकामा उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । सीमा नाकामा सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।
यता भारतले समेत सीमा नाकामा उच्च सतर्कता अपनाएको छ । नेपालबाट भारत प्रवेश गर्ने व्यक्तिहरुको परिचय पत्रलगायतका आवश्यक कागजपत्र जाँच गरेर मात्र भारतीय सीमा सुरक्षा बलले प्रवेश गर्न दिइरहेको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । सीमा नाकामा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलले संयुक्त रुपमा समेत गस्ती गरिरहेको छ ।सीमा क्षेत्रलाई ब्यवस्थित गर्न, सीमा क्षेत्रबाट हुन सक्ने अबैध गतिविधिलाई रोक्न उच्च सतर्कता उपनाईएको बारा प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी भारत र पाकिस्तानबिच आपसी द्वन्द्व चर्किएपछि सप्तरीको नेपाल–भारत सुरक्षा सिमा क्षेत्रमा चेकजाँच र सतर्कता बढाइएको छ ।भारतबाट नेपाल आउने र नेपाबाट भारत जानेहरूको चेकजाँच गरी परिचयपत्र हेरेर मात्र प्रवेश गर्न दिने गरेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको हामी सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रको निरीक्षण गर्दै सीमामा उच्च सुरक्षा सतर्कता बढाएका छौँ ।’सशस्त्र सुरक्षा बल सप्तरीले पनि भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर संयुक्त रूपमा चेकजाँच गरिरहेको छ । सप्तरीमा ७८ किलोमिटर भारतसँग सिमा जोडिएको सबै नाकामा सुरक्षा व्यवस्था कडा राख्न बोर्डर आउटपोस्ट बिओपीलाई सक्रिय बनाएको उहाँले जानकारी दिनुभएको छ ।

















