संघीय सरकारले आगामी आर्थिक वर्षका लागि करिब एक महीनाअगाडि नीति तथा कार्यक्रम ल्याएको थियो । त्यसको केही समयपछि भटाभट प्रदेश सरकारहरुले पनि नीति कार्यक्रम ल्याइरहेका छन् र स्थानीय सरकारले पनि असार लागेपछि नीति कार्यक्रम ल्याउने छन् नै तर संघीय,प्रदेश वा स्थानीय सरकारहरुले ल्याउने नीति तथा कार्यक्रम कत्तिको कार्यान्वयन हुन्छन् भन्ने कुरा चैं महत्वपूर्ण हो ।
संघीय सरकारले नीति कार्यक्रम ल्याएपछि बजेट प्रदेशले पनि ल्याउने छन् ।शुक्रवार मधेश प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि भन्दै नीति कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति कार्यक्रम झट्ट सुन्दा र हेर्दा एकदम राम्रो पनि देखिन्छ तर कार्यान्वयनको पाटो भने निकै फितलो देखिन्छ ।नीति तथा कार्यक्रममा हरेक वर्ष उस्तै कार्यक्रम पर्ने गरेका छन तर पूँजीगत खर्च भने फेरि मधेशमा राम्रो कहिल्यै पनि छैन । पूँजीगत खर्चमा मधेश प्रदेश झनै कमजोर छ ।
त्यसैले पनि कार्यक्रम ल्याउनु ठूलो कुरा होइन तर कार्यान्वयनको पाटो चैं निकै ठूलो कुरा हो । सरकारहरुले ल्याएका यी कार्यक्रमहरु कार्यान्वयनमा जोड दिनु पर्दछ । संघीय सरकार होस् या प्रदेश वा स्थानीय जसले पनि कार्यान्वयनमा जोड दिने र दोहोरिने नीति कार्यक्रम भएनन् भने मात्र नागरिकका लागि लाभप्रदक हुनेछन् ।

















