कलैया,सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालमाथि भएको कुटपिटको विरोधमा आइतवार नगरपालिकाका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालयको सेवा संचालन गरेका छन। कार्यालय समयभर कर्मचारीहरुले कालोपट्टी बाँधेरै नियमित कामकाज जारी राखेका थिए ।गत वैशाख १६ गते प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई सिम्रौनगढ नगरपालिका नगर प्रमुख किशोरी साह कलवार र उनका समर्थकले कुटपिट गरेको आरोप लागेपछि कर्मचारीहरु आन्दोलित बनेका हुन्। घटना आदर्शकोतवाल गाउँपालिकाको कोतवाली चोकस्थित जानकी आयल नजिक नगर प्रमुखको निवासमा भएको बताइएको छ।
जयसवालले कानुन विपरीत भुक्तानी गर्न नमानेपछि आफूलाई कुटिएको बताएका छन् । घटना पश्चात् आक्रोशित कर्मचारीहरूले विगत बिहीवारदेखि नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गर्दै सम्पूर्ण प्रशासनिक सेवा ठप्प पार्दै आएका थिए ।आन्दोलनरत कर्मचारीहरूले नगर प्रमुख कलवार र उनको साथ दिने समर्थकहरूमाथि कानूनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले यस्तो अमर्यादित कार्यले समग्र स्थानीय प्रशासनको गरिमा खल्बल्याएको र निजामती कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
यता, नगर प्रमुख किशोरी साह कलवारले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै “कुनै कुटपिट भएको छैन, झूठा आरोप लगाइएको हो“ भन्ने प्रतिक्रिया दिएका छन ।घटनाले सिम्रौनगढको स्थानीय प्रशासनमा चर्किएको तनाव अझै कायम रहेको छ। स्थानीय प्रशासन, प्रहरी प्रशासन र संघसंस्थाहरूले यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उच्च हुँदै गएको छ।



















