कलैया,जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराको अध्यक्षमा रमेशकुमार यादव निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि आइतवार भएको निर्वाचनमा यादव नेतृत्वको प्यानल निर्वाचित भएको हो ।पचरौता नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका यादवले दुई सय ६९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार धर्मबीरप्रसाद यादवले एक सय ७५ मत पाउनुभएको छ । यादव ९४ मतको मतान्तरले निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा यादव समूहकै शिवेन्द्र प्रताप सिंह र पुनम कुशवाहा निर्वाचित भएका छन् । महागढीमाई नगरपालिका ७ का वडा अध्यक्ष समेत रहेका सिंह दुई सय ५३ र कुशवाहा दुई सय ४६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उपाध्यक्षका अर्का दुई उम्मेदवार म. मुरतुजा अन्सारीले एक सय ९९ र सुरेन्द्रप्रसाद साहले एक सय ८९ मत पाएका छन् ।
सचिवमा दुई सय ६१ मत प्राप्त गर्दै शम्भुकुमार गुप्ता निर्वाचित हुनुभएको छ । सचिवका अर्का उम्मेदवार मुकेशकुमार पाण्डेले एक सय ९२ मत पाउनुभयो ।यसैगरी सहसचिवमा सिकेन्द्र दास र नन्दन गुप्ता निर्वाचित भएका छन् । दासले दुई सय ७२ र गुप्ताले दुई सय ४७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । सहसचिवका अन्य दुई उम्मेदवार धनसुनर यादवले एक सय ४६ र सुनैनाकुमारी चौधरीले एक सय ३५ मत प्रात गर्नुभएको छ ।कोषाध्यक्षमा दुई सय ६८ मत प्राप्त गर्दै विनोदप्रसाद यादव निर्वाचित हुनुभएको छ । कोषाध्यक्षका अर्का उम्मेदवार शारदा यादवले एक सय ६० मत पाउनुभयो ।



















