रौतहट,रौतहटमा एक १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका– ७ का कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी र सहायक अभियुक्त २२ वर्षीय साधुलाई पक्राउ गरेको हो ।त्यस्तै, मृतकको मोटरसाइकल खरिद गर्ने गौर नगरपालिका– ४ का विकास पटेल र मोटरसाइकल टुक्रा पार्ने ग्यारेजवाला अनिल साहलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कृष्णप्रसाद यादव गत वैशाख ६ गते बीआर ०५डब्लू ०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्केका थिए । तर, उनी घर नफर्केपछि ९ गते प्रहरी कार्यालय गरुडामा खोजतलासका लागि परिवारले निवेदन दिएको थियो ।प्रहरीले खोजतलास गर्दा ११ गते छाती र पेटमा गोली लागेको अवस्थामा यादवको शव रौतहटको गरुडा नगरपालिका– ८ स्थित चाँदी खोलामा फेला परेको थियो ।
प्रहरी अनुसन्धानमा नागेन्द्र सहनी र मृतक यादवको परिवारपछि पुनरो रिसिइबी रहेको र त्यसैको रिसमा उनीहरूले हत्या गरेको खुलेको थियो ।नागेन्द्र सहनीको भतिजी मृतकको बुबाको इँटा भट्टामा डुबेर मृत्यु भएको थियो । यो विषयमा आफ्नो भतिजीलाई मारेको भनेर सहनीको परिवारको आरोप लगाएको थियो । यसैगरी, ३ वर्षअघि मृतक यादवको बुबालाई अपहरण गरेको भनेर नागेन्द्र सहनीको दाइ धर्मेन्द्र सहनीमाथि अपहरण मुद्दा चलेको थियो । उनी फरार रहेका छन् ।
प्रहरीका अनुसार घटनाको दिन नागेन्द्र र साधुले टिकटक बनाउनको लागि मृतक यादवलाई मोबाइलमा फोन गरी गरुडा नगरपालिका– ८ स्थित चाँदी खोलामा बोलाएका थिए । यादव त्यहाँ पुगेपछि दुई जना मिलेर उनलाई नियन्त्रणमा लिई उनको मोबाइल खोसेका थिए । त्यसपछि सोही मोटरसाइकलमा तीनै जना बसी बिचमा यादवलाई बसाएर चाँदी खोलामा पुगेका थिए ।
घटनास्थलमा पुगेपछि साधुले मृतक यादवलाई धकेली लडाएका थिए र नागेन्द्रले उनीमाथि छातीमा २ राउण्ड गोली प्रहार गरेका थिए । वारदातपछि दुवै प्रतिवादीहरू मृतककै मोटरसाइकल लिएर साधुको रौतहटकै दुर्गा भगवती गाउँपालिका– ५ स्थित बहिनी ज्वाइँको घरसम्म पुगेका थिए ।उनीहरूले सो घरभित्र टिनको बाकसमा पेस्तोल लुकाएका थिए भने मोटरसाइकलको नम्बर प्लेट भाँची माटोमा गाडेर मोटरसाइकल भने सोही घरमा छाडेका थिए ।त्यसपछि भोलिपल्ट बिहान दुवै जना पुनः बहिनी ज्वाइँको घरमा पुगेर मोटरसाइकल लिई विकास पटेललाई ५ हजार रुपैयाँमा बेचेका थिए । सो मोटरसाइकल गौरको मोटरसाइकलबाट बरामद गरिएको थियो ।प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ४ जनामाथि कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।


















