मनोज शाह
जीतपुर,बाराको जितपुर बजार व्यवस्थापनका लागि आइतवार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।वडा अध्यक्ष सुनिलकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न छलफलमा अव्यवस्थित बजार र ट्राफिक व्यवस्थापनका विषयमा गम्भीर रुपमा चर्चा गरिएको थियो । अध्यक्ष गुप्ताले जीतपुरको बजार तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सबै सरोकारवालासँग समन्वय गरेर तत्काल आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालकै सस्तो तथा गुणस्तरीय सामान पाइने बजारका रूपमा परिचित जीतपुरमा किनमेलका लागि आउने ग्राहक र आगन्तुकहरूले भोग्दै आएका समस्याहरूको पहिचान भइसकेको छ, अब समाधानका उपायहरू तुरुन्तै कार्यान्वयनमा ल्याइनेछ ।“ साथै, वडा अध्यक्ष गुप्ताले जितपुर क्षेत्रको अर्को प्रमुख समस्या फोहोर संकलन तथा व्यवस्थापनलाई पनि छिट्टै विभिन्न निकायहरूसँगको सहकार्यमा समाधान गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरू नुरुल्ला असारी, ललिता देवी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख जे. जान कार्की, वडा ७ कार्यालयका सल्लाहकार राजुकुमार सिंह, महिला नेतृ मर्जिन खातुन, नगर प्रहरी प्रमुख रविन कुमार खड्का लगायतको उपस्थिति थियो ।छलफलका क्रममा सहभागीहरूले बजार क्षेत्रको सौन्दर्यता जोगाउन, ट्राफिक व्यवस्थापन सुधार गर्न र फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply