निजगढ,तामाङ्ग समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्वको अवसरमा निजगढ नगरपालिकाले आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नगरपालिकाको कार्यपालिका बैठकले २८६०औं सोनाम ल्होछारको अवसरमा आइतबार नगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौंलाले शुक्रवार सूचना जारी गर्दै ल्होछारलाई हर्षोल्लासका साथ मनाउन नगर क्षेत्रभित्रका कार्यालय र शैक्षिक संस्थालाई विदा दिइएको जनाउनुभएको छ ।
तामाङ्ग समुदायले मन्जुश्री संवत् २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्ष आज मनाउँदैछन् । ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल र ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्ष प्रवेश गरेको दिनका रुपमा सोनाम ल्होछार मनाउने गरिन्छ । ल्होछारको अवसरमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतका जनप्रतिनिधिले शुभकामना दिनुभएको छ ।

यसैबीच नेपाल तामाङ्ग घेदुङ्ग निजगढ नगर कार्यसमितिले सोनाम ल्होछार पर्वको अवशरमा आइतवार निजगढमा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्नेभएको छ ।कार्यक्रम बारे जानकारी दिन शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा घेदुङ्ग निजगढका अध्यक्ष शंकर थोकरले सो कुराको जानकारी दिनुभएको हो ।कार्यक्रममा राष्ट्रियस्तरका ख्याति प्राप्त र स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिने अध्यक्ष थोकरले बताउनुभयो ।निजगढ ९ स्थित होटल हाइवेमा भएको कार्यक्रममा घेदुङ्ग बारा जिल्ला अध्यक्ष सूर्यबहादुर घलान, नगर कार्यसमितिका सदस्य उमेश घलानलगायत तामाङ्ग समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here