कलैया,शिक्षा ऐनको माग राख्दै काठमाडौंको माइतीघरमा २६ दिनदेखि प्रदर्शन गर्दै आएका शिक्षक र प्रहरीबीच आइतवार भएको झडपमा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीसहित केही शिक्षक घाइते भएका छन् ।
घाइतेको अहिले बानेश्वरस्थित एभरेष्ट अस्पताल र निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीसंग झडपमा घाइते भएका उनीहरुको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि झडप भएको हो । निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रतिकार गरेको थियो ।

शिक्षकलाई रोक्न पानीको फोहोरा प्रयोग गरेपछि आक्रोशित शिक्षकले ढुंगा प्रहार गर्न थालेका थिए । सो क्रममा दोहोरो झडप भएको हो । झडपपछि नयाँ बानेश्वर क्षेत्र अशान्त बन्न पुगेको थियो ।सरकारले घुसपैठ गरायो ः महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।
आइतवार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताउनुभयो ।

‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो । सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।’बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् । यसपछि झन् शिक्षकहरू आक्रोशित भएका छन् ।सोमवार थप शिक्षक कर्मचारी काठमडौं आउने महासंघले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन । अब हामी पनि आउछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भन्नुभयो ।
टिभि पत्रकार कार्की घाइते
काठमाण्डौं,यसैगरी प्रहरी र शिक्षकबीचको झडपको समाचार संकलन गर्न पुग्नुभएकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समेत घाइते हुनुभएको छ । पानीको फोहोरा आँखामा पर्दा उहाँलाई गम्भीर चोट लागेको हो ।घटनालगत्तै प्रहरीले उहाँको उद्धार गरेको थियो । घाइते पत्रकारको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।नेपाल पत्रकार महासंघले घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।सौजन्य तस्बिर

Leave a Reply