सप्तरी, २० जेठ। थारु समुदायका अग्रणी बौद्धिक व्यक्तित्व तथा संविधानविद् स्वर्गीय रमानन्द प्रसाद सिंहको स्मृतिमा स्थापना हुन लागेको ‘रमानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालय’ को पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। बुधबार सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ मा आयोजित समारोहबीच प्रतिष्ठानको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको हो।

समितिका अध्यक्ष निखिल सिंहको अध्यक्षता तथा वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले रमानन्द सिंहले समाज, राष्ट्र र थारु समुदायका लागि पुर्याएको योगदानलाई स्मरण गर्दै प्रतिष्ठानले भावी पुस्तालाई इतिहास, भाषा र संस्कृतिसँग जोड्ने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि यादवले स्वर्गीय सिंहको जन्मस्थलमै निर्माण हुन लागेको अध्ययन केन्द्र र संग्रहालयले गाउँपालिकाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्नुका साथै स्थानीय विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणदेखि सञ्चालनसम्म आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा थारु भाषा साहित्य केन्द्रका केन्द्रीय अध्यक्ष भुलाई चौधरीले रमानन्द सिंह थारु समुदाय मात्र नभई राष्ट्रिय स्तरमै चिनिएका व्यक्तित्व भएको उल्लेख गर्दै उनको स्मृतिमा सुरु गरिएको यो अभियान ऐतिहासिक र दीर्घकालीन महत्वको हुने बताए। उनले प्रतिष्ठान निर्माण कार्यलाई सफल बनाउन सबै क्षेत्रको साझा सहयोग आवश्यक रहेको धारणा राखे।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव बृजमान तामाङले अध्ययन केन्द्र र संग्रहालयले थारु भाषासहित अन्य जातीय भाषा, कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रतिष्ठानको परिकल्पनाकारमध्ये एक तथा पत्रकार प्रिया सिंह थारुले लामो समयदेखिको सपना मूर्त रूप लिन थालेकोमा खुशी व्यक्त गर्दै यसले सामाजिक रूपान्तरण, सांस्कृतिक संरक्षण तथा नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति सचेत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा थारु भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरी, युवा नेता अजय चौधरी, जग्गादाता परिवारका सदस्य लिलाधर प्रसाद सिंह, सिर्जना लेखी पाठक, वडा सदस्य जानकी चौधरी, स्थानीय अगुवा अशोक कुमार चौधरी, शैलेन्द्र कुमार गामी, सन्दीप सिंह, जगदीश सिंह लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
मधेश प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको प्रतिष्ठानका लागि परिकल्पनाकार प्रिया सिंह थारु (पार्वती), विनम सिंह तथा लिलाधर सिंहकी आमा भुलमाया देवी चौधरीले २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएकी छन्।
को हुन् रमानन्द प्रसाद सिंह?
सप्तरीको प्रसवनीमा जन्मिएका रमानन्द प्रसाद सिंह नेपालको प्रजातान्त्रिक आन्दोलन, कानुनी सुधार तथा सामाजिक रूपान्तरणका एक महत्वपूर्ण व्यक्तित्व थिए। उनी २०४७ सालको संविधान निर्माण प्रक्रियाका मस्यौदाकारमध्ये एक हुनुका साथै नेपाल सरकारका महान्यायाधिवक्ता र कानून सचिवको जिम्मेवारी समेत सम्हालिसकेका थिए।
बालविवाह, कनौती प्रथा, दहलौनिया भारजस्ता सामाजिक कुप्रथाविरुद्ध आवाज उठाउँदै सामाजिक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गरेका सिंहले देशको राजनीतिक तथा सामाजिक परिवर्तनका विभिन्न चरणमा नेतृत्वदायी योगदान दिएका थिए। उनको जन्म १९८५ कार्तिक २६ गते भएको थियो भने २०६५ वैशाख २५ गते निधन भएको थियो।
कार्यक्रमको सञ्चालन स्थानीय युवा कलाकार प्रवीण चौधरीले गरेका थिए।



















