पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको आयोजनामा आइतबार एकदिने आँखा परीक्षण शिवीर सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिका वडा नं.२ दोहरीस्थित अमर माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न शिवीरमा ३०५ जनाले आँखा जाँच गराएका छन् । आँखा जाँच गराउने मध्ये १ सय २४ जनामा मोतियाविन्दु फेला परेको संस्थाले जनाएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान अन्तरगत निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा शिवीरको आयोजना गरिएको सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

अस्पतालका नेत्ररोग विषेशज्ञ सुपेन्द्र ताम्राकार, दिपक सुवेदी, आँखा प्रतिष्ठामा तेस्रो र दोस्रो वर्षमा अध्यायनरत छात्राहरु समिक्षा उप्रेती, सोनिया गिरी र पुष्पा सिंहले आँखा परीक्षण गरेका थिए ।

मानिसहरुमा बढ्दो उमेरका कारण मोतियाविन्दु हुन्छ । ४० वर्ष कटेका मानिसहरुमा कुनै पनि बेला यो समस्या हुनसक्छ । विशेष गरी तराईको मौसमले पनि यसलाई प्रभाव पार्ने गरेको नेत्ररोग विषेशज्ञ सुवेदीले बताउनुभयो । ‘धुलोधुँवामा काम गर्नुपर्नेहरुमा अलि चाँडो र सफा सुरक्षित ठाउँमा बस्नेहरुमा केही ढिलो होला तर जो कोहीलाई पनि मोतियाबिन्दुको समस्या हुनसक्छ ।’ उहाँले भन्नुभयो ।

मोतियाविन्दुका विरामीको आगामी बिहिवार निजगढस्थित तिलगंगा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने नेत्ररोग विषेशज्ञ सुवेदीले जानकारी दिनुभयो । शल्यक्रिया गरिने बिरामीलाई बुधबार विहानै अस्पतालले आफ्नै सवारीमा निजगढ लैजाने समेत उहाँले बताउनुभयो ।

Leave a Reply