निजगढ,नयाँ वर्ष २०८२ मा निजगढका प्रमुख पर्यटकीय क्षेत्रहरुमा सोमवार आन्तरिक पर्यटकहरुको चहल पहल बढेको देखिएको छ ।पालिकाको प्रमुख पर्यटकीय क्षेत्रहरु निजगढ ४ को मोहोरी पार्क, शहिद हिरालाल पार्क, निजगढ ६ को जातेकुना, निजगढ ३ को धन्सार र निजगढ १३ को शक्तिखोला क्षेत्रमा वनभोज र घुम्न आउनेहरुको चहल पहल देखिएको हो ।

निजगढ ६ को जनसृजनशील सामुदायिक वन क्षेत्रको जातेकुना पोखरी क्षेत्रमा निजगढ र बारा जिल्लाका विभिन्न क्षेत्रबाट सोमवार दिउसो दर्जनौले वनभोज गरेको वन समूहका अध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो ।पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनासहित वन समूहले जातेकुना क्षेत्रमा पोखरी निर्माण गरेपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढेको हो । चुरे डाडाको फेदी र घना जंगलको बीचमा रहेको उक्त क्षेत्रको करिव १० हेक्टरभन्दा बढी क्षेत्रमा बाह्रै महिना पानी रहने पोखरी निर्माण गरिएको छ ।

पोखरी भएपछि पछिल्लो समय जातेकुना क्षत्रेमा आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा विकास हुदैआएको सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले बताउनुभयो । उहाँले जातेकुनासहित निजगढको मोहोरी, शहिद हिरालाल पार्क, शक्ति खोला र धन्सार क्षेत्रमा पनि पर्यटकीय विकासको पर्याप्त शंभावना रहेको र सरोकारवाला निकालयले योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply