सिकिन्द्र साह

सिम्रौनगढ,बाराको सिम्रौनगढमा मंगलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।उद्योग वाणिज्य संघको सभा हलमा नेपाल राष्ट्र बैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघको अध्यक्ष लालबाबु कुशवाहा तथा नेपाल राष्ट्र बैंक क्षेत्रीय निर्देशक अजित रेग्मी उपनिर्देशक रचना शर्मा पराजुली रहनु भएको थियो ।कार्यक्रममा स्थानीय व्यापारी, विभिन्न बैंक शाखाका प्रमुखहरु, सहकारी संञ्चालक विद्यार्थी, महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विदेशबाट भित्रिने रेमिट्यान्ट कुन माध्यमबाट आउँदा वैध हुने र अवैध हुने सम्बन्धमा स्थानीयलाई जानकारी गराइएको छ ।विदेशबाट आएको रकम सिधै रेमिट्यान्स भुक्तानी सेवा प्रदायक तथा बैंक खातामा आउँदा वैध हुने सम्बन्धमा स्थानीयलाई सचेत गराइएको हो । रेमिट्यान्स बैक खाता वा भुक्तानी सेवा प्रदायकको माध्यमबाट नआएर अपरिचित व्यक्तिको माध्यमबाट घरघरमा रकम पु¥याउने कार्य हुण्डी हुने भनेर स्थानीयलाई जानकारी गराइएको छ । हुण्डी रकम लेनदेन गर्ने तथा गराउने कार्यलाई गैरकानुनी मानिन्छ । रेमिटेन्स मार्फत विदेशबाट आउने रकममा ब्याज पनि प्राप्त हुन्छ ।बजारमा नक्कली नोटको बिगबिगी रहेको अवस्थामा नोट सफा राख्न पनि आवश्यक रहेको कार्यक्रममा जानकारी दिइएको छ । एक हजार रुपैयाँको नोट राष्ट्र बैंकले जलाउँदा राष्ट्रलाई तीन रुपैया घाटा लाग्ने पनि कार्यक्रममा जानकारी दिइएको थियो । डिजिटल कारोबारको माध्यमबाट देश विकसित हुने भएकाले राष्ट्र बैंकको अनुमतिबाट सञ्चालित भुक्तानी सेवा प्रदायक वालेटबाट कारोबार गर्न पनि सल्लाह दिइएको थियो । कार्यक्रमको सञ्चालन नरेश सराफले गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न वित्तीय संस्थाको प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागितामा रहेको थियो ।

Leave a Reply