कृष्ण मोहन साह
सेढवा,पर्साको ग्रामीण क्षेत्रमा पछिल्ला वर्षहरुमा बन्द भएको गाँजाको खेती यो वर्ष फेरि शुरु भएको पाइएको छ ।
गाँजा खेती शुरु भएपछि प्रहरीले गाउँगाउँमा पुगेर फडानी थालेको छ । सोमवार मात्रै पर्सा प्रहरीले जिल्लाको जिराभवानी गाउँपालिका– ५ हरैया र पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवामा ३.५ कठ्ठा जमिनमा लगाइएको करिब ७ हजार ५ सय वटा गाँजाका बोट फडानी गरेको थियो ।प्रहरी प्रशासनले कडाइका साथ कारबाही अभियान थालेपछि पर्सामा वर्षौअघिदेखि हुदैआएको गाँजा खेती ०६७ सालदेखि पूर्णरुपमै बन्द भएको मानिएको थियो । योबीचमा पर्सामा छिटफुट बाहेक रोकिएको गाँजा खेती अहिले भने फेरि शुरु भएको पाइएको हो ।

पर्साको ठोरी, जिराभवानी, पटेर्वा सुगौली, सखुवा पर्सौनी लगायतका गाउँपालिका र पर्सागढी नगरपालिकाका विभिन्न बस्तिमा किसानहरुले यो वर्ष गाँजा रोपेको स्थानीयवासीले बताएका छन् ।चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रसंग जोडिएका गाउँपालिकाका विभिन्न टोलमा गाँजा खेती गरिएको हो । ती पालिकमा वन अतिक्रमण गरिएको जमिन र खोला बगरमा पनि स्थानीय किसानसंग मिलेर कारोबारीहरुले गाँजा रोपेका छन् । कतिपय स्थानमा भने किसानहरुले गाँजाका कारोबारीहरुको आर्थिक लगानीमा नै गाँजाको खेती गरेको गाउँलेहरुले बताएका छन् ।

लामो समयदेखि खेती बन्द भएका कारण गाँजाको बीउको समेत अभाव रहेको अवस्थामा जिल्लाका किसानहरुले मकवानपुरका पहाडी क्षेत्रबाट बीउ ल्याएर गाँजाको बिरुवा रोपेका हुन् । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले भने आफूलाई जिल्लामा गाँजा खेती भएको बारेमा जानकारी नभएको र सो बारेमा सूचना प्राप्त भएको अवस्थामा तत्काल फाडानी गर्न प्रहरी टोली परिचालन नष्ट गरिने बताउनुभएको छ । उहाँले कहि कतै कसैले गाँजा खेती गरेको सूचना भए तत्काल प्रहरीलाई खबर गर्न पनि पाठकले स्थानीयबासीहरुसंग आग्रह गर्नुभएको छ ।

Leave a Reply