सिमरा, २८ चैत्र
१५औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।सिमरा रङ्गशालाको फ्लड लाइटमा शुक्रवार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै वर्ष ०८१ को सुखद अन्त्य गर्न चाहन्छन् ।मच्छिन्द्र दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । अघिल्लो बर्ष १४औं संस्करणको फाइनलमा पुलीससंग पराजित हुँदै उपविजेतामा सिमित मच्छिन्द्रले यसपटक पुलिसलाई क्वाटरफाइनलमा हराउँदै मनोबल उच्च बनाएको छ भने चौथोंपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्न लागेको हिमालयन शेर्पाले मच्छिन्द्रसंग यो वर्ष मोफसलका प्रतियोगितामा व्यहोरेको हारको बदला लिने लक्ष्य राखेको छ ।

यसअघि सिमरा रङ्गशालामा १३औं संस्करण र चौथों संस्करणको फाइनलमा उपविजेता बनेको शेर्पाले ०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको थियो ।सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा मच्छिन्द्र पहिलोपटक प्रतियोगिताको विजेता बन्ने लक्ष्य राखेर मैदानमा उत्रनेछ । मच्छिन्द्र २०८१ को चौथों उपाधि उचाल्दै राजधानी फर्कने योजनामा छ ।

यो वर्ष काठमाडौंमा सम्पन्न केपी ओली कप, इटहरी गोल्डकप र कपिलबस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको मच्छिन्द्र मोफसलको अन्तिम प्रतियोगिताबाट वर्षको सुखद अन्त्य गर्ने योजनामा छ ।सिमरा रङ्गशालामा हिमालयन शेर्पा पनि दोश्रो पटक प्रतियोगिताको उपाधि उचाल्ने दाउँमा हुनेछ भने हिमालयन शेर्पा वर्ष ०८१ कै पहिलो उपाधि जित्न चाहन्छ । यो वर्ष मोफसलका प्रतियोगितामा कमै सहभागिता जनाएको हिमालयन शेर्पा हालसम्म उपाधि बिहिन छ ।
सिमरा रङ्गशालामा मच्छिन्द्र र हिमालयन शेर्पा यो वर्ष तेश्रोपटक भिड्दैछन् । यसअघि पाँचथर र कपिलबस्तु तिलौराकोट गोल्डकपमा दुबै खेल मच्छिन्द्रले जितेको थियो । सिमरा रङ्गशालामा मच्छिन्द्रसंग मोफसलका दुई प्रतियोगितामा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हिमालयन शेर्पा रहेको छ ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो । ‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टिम निर्माण गरिएको छ ।’ न्यौपानेले भन्नुभयो ।
हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले आफूहरु वर्षको पहिलो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताउनुभयो । युवा खेलाडी सम्मिलित टोलीले जीतपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष ०८१ को अन्त्यका लागि आफूहरु उत्साहित रहेको बताउनुभयो । ‘हाम्रा उर्जावान युवा खेलाडीले यस वर्ष सिमरा रङ्गशालामा इतिहास रच्नेमा विश्वस्त छु ।’ प्रशिक्षक क्षेत्रीले भन्नुभयो ।

मच्छिन्द्रले आफनो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई टाइव्रेकरमा ४–३ र सेमिफाइनलमा भरतपुरको हनामी विएफसीलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।हिमालयन शेर्पाले भने क्वार्टरफाईनलमा फ्रेण्ड्स क्लबलाई १–० र सेमीफाइनलमा आयोजक सिमरालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
सिमरा रङ्गशालामा बिहीवार बिहान पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान रेजिन सुब्बा र हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए ।हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले सिमराका आयोजकले गरेको व्यवस्थापन मोफसलकै उत्कृष्ट रहेको भन्दै आयोजकलाई धन्यबाद दिनुभयो । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले यस वर्ष छोटो समयको तयारीमा आयोजकले गरेको व्यवस्थापन प्रशंसनीय रहेको बताउनुभयो ।शुक्रवार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा नेपाल सरकारका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।
फाइनल खेल हेर्न करिब २५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । चार वर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिति उत्साहजनक रुपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताउनुभयो ।
हालसम्मका उपाधि विजेता
२०८० नेपाल पुलिस क्लब
२०७९ चर्च व्वाईज युनाईटेड
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रीभूवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नवजनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुरसहिद स्मृति क्लब

Leave a Reply