कलैया,बाराको महागढीमाई नगरपालिकाले विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा तीव्र पारेको छ ।
गढीमाई नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपालिको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका साथ विभिन्न तयारीहरू तीव्रताका साथ भइरहेको छ ।बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेला यो वर्षको आश्विन १७ गते औपचारिक रुपमा उद्धाटन गरिने कार्यक्रम तय भएको छ ।

मेलालाई व्यवस्थित बनाउन र श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मको विस्तृत योजना बनाइएको महागगढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताउनुभयो । उहाँका पार्किङ व्यवस्थापनको लागि दक्ष प्राविधिक टोली खटाइएको र खानेपानी व्यवस्थापन गर्न सार्वजनिक धारा जडान कार्य शुरु भएको छ ।
मन्दिर परिसरबाहिरको पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे सवारी साधनका लागि पार्किङ स्थलहरू छनोट गरिसकिएको छ भने मेलाको प्रचार–प्रसार र उद्धाटन कार्यक्रमलाई भव्य पार्न आवश्यक तयारी भइरहेको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।

उद्धाटन कार्यक्रममा सहभागी गराउन नेपाल र भारतका विभिन्न शक्तिपीठका गुरुहरू, राष्ट्र प्रमुख, मन्त्रीहरू, उद्योगपति लगायत विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा पठाउने काम शुरु भइसकेको पनि नगर प्रमुख यादवले जानकारी दिनुभयो ।
यस वर्षको गढीमाई मेला आश्विन १७ गते अर्थात दशैंको घटस्थापनाको दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शोभायात्रा गरी भव्य रूपमा उद्घाटन गर्ने योजना मेला समितिले बनाएको छ । मेला तयारीको ८० प्रतिशतकार्य पूरा भइसकेको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।

Leave a Reply