कलैया,कलैया उपमहानगरपालिकाले साउन १८ गतेबाट शैक्षिक संस्थामा भौतिक उपस्थिति मै पठनपाठन गर्ने अनुमति दिएको छ । उपमहानगरको यो निर्णयसँगै विगत दुई महिनादेखि बन्द रहेका शैक्षिक संस्था साउन १८ गते सोमबारबाट सुचारु हुने भएका छन् ।

उपमहानगरपालिकाका उपसचिव प्रहलाद वर्णवालले आइतबार एक सूचना जारी गर्दै नगर शिक्षा समितिको गत साउन १५ गतेको निर्णय अनुसार स्वास्थ्यको मापदण्ड पालना गरेर उपमहानगरभित्रका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने अनुमति दिएको जानकारी दिनुभयो । नगर शिक्षा समितिको गत साउन १५ गते बसेको बैठकले साउन १८ गतेदेखि सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय भौतिक उपस्थितिमै पठनपाठन गर्ने अनुमति दिने निर्णय गरेको थियो ।

उपमहानगरले कक्षा ५ सम्मका आधारभुत विद्यालयमा कक्षा ४, ५ र ८ सम्मका आधारभुत विद्यालयमा ६ देखि ८ र १० सम्मका माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० र १२ सम्मका माध्यमिक विद्यालयमा ८ देखि १२ सम्मको कक्षा मात्र भौतिक उपस्थिति मै संचालन गर्न भनेको छ । अन्य कक्षाको हकमा भने तत्कालको लागि बन्द नै राख्न उपमहानगरले निर्देशन दिएको छ । अन्य कक्षाका विद्यार्थीलाई पनि टेलिफोन, अनलाईन, भिडियो कन्फ्रेन्स मार्फत वा विद्यार्थीको घरमा नै पुगेर शिक्षकले सिकाइ सहजीकरण गर्न र गृहकार्य दिन उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

विद्यालय संचालन गर्दा विद्यालयको कम्पाउन्ड, कक्षा कोठा, शौचालय, प्रयोगशाला लगायतका ठाउँहरु दैनिक रूपमा सेनिटाईज गर्नु पर्ने निर्देशनमा उल्लेख छ । एउटा बेन्चमा १ जनामात्र विद्यार्थीलाई राख्नु पर्ने त्यसको लागि कक्षाकोठा, डेस्क, बेन्च अपुग भए २ सिफ्टमा कक्षा संचालन गर्नु पर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

Leave a Reply