विशेष गरी नेपालमा वित्तीय प्रणालीको पारदर्शिता र विश्वसनीयतामा प्रश्न उठाउने खालका शंकास्पद कारोबार र गतिविधिहरू दिन–प्रतिदिन बढ्दै गएका छन् । हालै नेपालबाट ट्रकमा राखेर ठूलो परिमाणमा विदेशी मुद्रा चीन लैजाने तयारीमा रहेको बेला पक्राउ गरिएको घटनाले पनि यसको पुष्टि गर्दछ ।
साथै नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदनले यसतर्फ गम्भीर संकेत गरेको छ । गत आर्थिक वर्षमा शंकास्पद कारोबारको संख्या करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३३८ पुगेको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष (२०७९–८० मा) यो संख्या ५ हजार ९३५ थियो ।
इकाइको विश्लेषणमा आधारित विस्तृत शंकास्पद गतिविधिको संख्या १ हजार ६३२ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढी हो । यीमध्ये ८८९ प्रतिवेदन कानुनी कार्यान्वयन निकायहरूमा थप अनुसन्धानका लागि पठाइएका छन् । भविष्यमा आवश्यक जानकारी आएमा पुनः विश्लेषणका लागि ७४६ प्रतिवेदन अभिलेखका रूपमा राखिएका छन् ।शंकास्पद कारोबारको प्रकृति हेर्दा कर छली, मौद्रिक अनियमितता, अवैध विदेशी विनिमय, बीमा तथा सहकारीमा ठगी, चिट्ठा, सट्टेबाजी र जुवाजस्ता अवैध कार्यहरू मुख्य कारण देखिएका छन् ।
















