खासगरी नेपाली काँग्रेस बुधवारको बैठकमा एमसिसी संघीय संसदमा पेश गर्ने सोचमा थियो । प्रतिनिधि सभाको बैठक पनि यसैका लागि बोलाइएको धेरैलाई लागेको थियो र अन्तिम समयमा आएर एमसिसी सदनमा टेबुल भएन तर एक दिन यो सदनमा पेस हुने संभावना कायम नै छ । फेरि शुक्रबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ । जसका लागि एमसिसी नै मुख्य कुरा हुने पनि बताइएको छ ।
तर, योबीचमा आज सडकमा चर्का नारा लागे । खासगरी सरकार र काँग्रेसका बिरुद्धमा नागरिकहरु सडकमा उत्रिएका छन् । एमसिसीका बिरुद्धमा सडकमा उत्रिएको जमात हेर्दा बुझेर या नबुझेर जे भएपनि नागरिकहरु एमसिसीको विपक्षमा रहेको कुरा स्वतः स्पष्ट हुन्छ । नेपाली नागरिकहरु अहिले एमसिसीको पक्षमा छैनन् । बिरोध गर्नेहरु सबै चीनका एजेन्ट पनि होइनन् ।
त्यसैले पनि सडकमा लागेको नाराको बिषयमा दलहरु गम्भीर बन्नु पर्दछ । नागरिकहरुको विरोध हुँदा हुदैपनि किन कांग्रेस र सभापति शेरबहादुर देउवा एमसिसीको पक्षमा लागेका छन् भन्ने कुरा महत्वपूर्ण र शंकास्पद छ । त्यसैले पनि अमेरिका र यसको पक्षमा रहेकाहरुको नियत ठीक नभएका कारण हालका लागि एमसिसीको मुद्दा बन्द गरेकै ठीक हुनेछ ।














