पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा एक दम्पतिको नाती जन्मिने भाकल पूरा भएपछि आफ्नै घरको आँगनमा तलाउ (घाट) खनेर चैती छठ पूजा गरेका छन ।स्थानीय रामबाबु पटेल र श्रीमती कुमरियादेवीले भाकल पूरा भएको खुसियालीमा घरको आँगनमा जलाशय बनाएर धार्मिक विधि अनुसार चैती छठ पूजा गरेका हुन ।
पटेल दम्पतिकी कान्छी छोरी नन्दनी देवीले एक वर्षअघि छोरा जन्माउनुभएको थियो । नन्दनीको ७ वर्षअघि जीतपुरसिमरा १८ पराँस टोलकाका लालदेव पटेलको छोरा श्याम पटेलसँग विवाह भएको थियो । पहिलो सन्तानको रुपमा छोरी जन्माएकी नन्दनीले दास्रो सन्तानको रुपमा छोरा जन्माउनुभएको हो ।

‘छोरो जन्मिओस भन्ने कामना थियो, रामबाबु पटेलले भन्नुभयो, चिताएको कुरा पूरा भएपछि भाकलअनुसार घरमा जलासय निर्माण गरेर पूजा गरेका हौं ।’ पटेलले आफू बस्ने घरको आँगनमा दुई फिट गहिरो र चार फिट चौडा तलाउ बनाउनुभएको थियो । श्रीमती कुमरिय र परिवारका अन्य सदस्यहरु मिलेर तलाउमा पानी भर्ने र सजावट गरिएको थियो । जलाशयको चारै तिर केराको थाम गाडेर झिलिमिलि बत्तिसहित सिंगारिएको थियो । तलाउ किनारमा बसेर दम्पतिले पूजा गरेका थिए ।
घरबाट टाढाका तलाउ वा खोलामा पुगेर पूजा गर्न जोखिम भएकोले घरमै जलाशय खनेर पूरा गरेको उहाँले बताउनुभयो ।
पूजामा छोरी नन्दनी, ज्वाई श्याम र परिवारका सबै सदस्य सहभागी बनेका थिए ।

‘छोरी दोस्रो सन्तानकी आमा बनिन् । हामी हजुरबुवा हजुरआमा बन्यौैं । भाकल पुरा भएपछिको पहिलो चैती छठ गरिरहेका हौं ।’ रामबाबुले बताउनुभयो ।उहाँले भाकल अनुसार छठ गर्नुपर्ने र असोज कार्तिकमा हुने छठमा जस्तो धेरै मानिसले चैती छठ नमान्ने पनि उहाँले सुनाउनुभयो ।मधेसका जिल्लहरुमा स्थानीय तालतलैयामा संजिया घाटमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट सम्साझमै पुनः घाटमा गएर पारन अर्थात उदाउँदो सूर्यको पूजा आरधना गरेपछि विधिवत रुपमा छठ पर्वको समापन गरिन्छ ।

यसैबीच मिथिलाञ्चलमा शुक्रवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रवार बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ चैती छठपर्व सम्पन्न भएको छ भक्तजनहरूले बिहीवार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूराहोस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।चार दिनसम्म मनाइने यस पर्वको पहिलो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहिआएको छ ।

Leave a Reply