कलैया,सामाजिक विकासको क्षेत्रमा उल्लेखनीय काम गरेबापत नेपाल नगरपालिका सङ्घले कलैया उपमहानगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित गरेको छ ।आफ्नो ३२औँ स्थापना दिवसको अवसरमा बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा सङ्घले कलैयालाई देशकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित गरेको हो ।
आर्थिक वर्ष २०८०÷८१ मा सामाजिक विकास क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको मूल्याङ्कन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन परविन र प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई संयुक्त रूपमा ‘म्युनिसिपल एक्सेलेन्स अवार्ड २०८१’ प्रदान गर्नुभएको हो ।
सङ्घले विभिन्न मापदण्डका आधारमा गरेको मूल्याङ्कनमा कलैयाले शीर्ष स्थान हासिल गरेको हो । सो पुरस्कारकलैया उपमहानगरपालिकाले नागरिकको जीवनस्तर उकास्न गरेको उल्लेख्य योगदान र कृषि, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा देशभरमै उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदान गरिएको बताइएको छ ।
पुरस्कार ग्रहण गर्दै नगर प्रमुख विनोद साहले पालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र नगरवासीको संयुक्त प्रयासको परिणाम स्वरुप सम्मान मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुरस्कार हाम्रा लागि गर्वको विषय हो । हामीले विगतमा गरेका कामको मूल्याङ्कन भएको छ र यसले आगामी दिनमा थप ऊर्जाका साथ सेवा प्रवाह गर्न प्रेरणा मिलेको छ ।” उहाँले नगरवासीको साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा उपप्रमुख रौशन परविनले सामाजिक विकासका क्षेत्रमा गरिएका पहलहरूले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गर्नुभयो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत नाथु साहले प्रशासनिक सुधार र पारदर्शितालाई प्राथमिकता दिइएको बताउँदै सम्मानले टिमको मनोबल उच्च भएको धारणा राख्नुभयो ।नेपाल नगरपालिका सङ्घले हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहलाई सम्मानित गर्दै आएको छ ।



















