विगत वर्षझैं यस वर्षको रंगहरूको पर्व होली हामी माझ आइपुगेको छ । होलीले सम्पूर्ण नेपालीजनमा हर्षोल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाइने गरिन्छ । होली नेपालीको उत्सव हो । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।

यो पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।

राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्न्’ ।यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाई आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसइबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरूका अनुसार यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विधेय क्षेत्रको रामगढस्थित इसाभन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यो पर्वको बारेमा उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।
नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्री कृष्णको प्रिय रंग हो ।

भाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ । अनुहार अनि शरीरभरि लागेका रंगहरू धुँदा हातैभरि रंगीन हुने गर्दछ । खलल बगेका पानीका धारा या नुहाउने इनार अनि पोखरीका डिलहरू पनि रंगीन हुने गर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरू गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ ।यो वर्षको होली पहाडमा बिहीवार र तराई मधेशमा शुक्रवार परेको छ । होली वा फागुपूर्णिमा २०८१ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

Leave a Reply