वीरगञ्ज,दुर्गा प्रसाइँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म सांस्कृतिक नागरिक बचाउ महाअभियान नेपालले वीरगञ्जमा प्रदर्शन गरेको छ । अभियानका मधेश प्रदेश इन्चार्ज सानु पूर्वाछानी मगरको नेतृत्वमा भएको प्रदर्शनमा अभियानका समर्थक तथा कार्यकर्ताहरूको सहभागिता थियो ।

प्रदर्शनका क्रममा सहभागीहरूले “नेपालको व्यापार नेपालीले नै गर्ने हो, ” “नेपालको पैसा नेपालमै राख्नुपर्छ,” “सहकारी पीडितको बचत रकम सरकारले जिम्मा लिएर तिर्नुपर्छ,” “खाडीका जेलहरूमा रहेका ७ हजार नेपाली युवालाई स्वदेश फर्काउन पहल गरिनुपर्छ” लगायतका माग गरेका थिए ।
अभियानका मधेस प्रदेश इन्चार्ज सानु पूर्वाछानी मगरले प्रदर्शनको क्रममा भन्नुभयो, “हाम्रो अभियान देशभक्ति, राष्ट्रियता, धर्म–संस्कृति संरक्षण र नागरिकका अधिकार सुनिश्चित गर्ने उद्देश्यले अघि बढिरहेको छ । सरकारले सहकारी पीडितलाई राहत दिनुपर्छ, खाडी मुलुकमा जेल परेका नेपाली युवालाई स्वदेश फर्काउन पहल गर्नुपर्छ, नेपालभित्रको व्यापारलाई नेपाली नागरिककै हातमा राख्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।”
दुर्गा प्रसाइँ नेतृत्वको अभियानले विभिन्न सामाजिक, आर्थिक र राजनीतिक विषय उठाउँदै आएको छ । सहकारी पीडितको समस्या समाधान, नेपालभित्रको आर्थिक स्रोत बाहिरिने अवस्थालाई रोक्ने, विदेशमा समस्यामा परेका नेपालीहरूलाई उद्दार गर्ने, धर्म–संस्कृतिको रक्षा गर्ने लगायतका विषयमा उनीहरू आन्दोलित छन् ।महाअभियानले देशव्यापी रूपमा सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यले विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आगामी माघ १७ गते पोखरामा पनि अभियानले विशाल प्रदर्शन गर्ने तयारी गरेको छ । यसअघि, काठमाडौँ, धरान, वीरगञ्ज, जनकपुरलगायतका शहरहरूमा प्रदर्शन भइसकेको छ ।


















