कलैया,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवलाई नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठले कारबाहीको लागि प्रेस युनियन केन्द्रीय समितिमा सिफारिस गर्नुभएको छ ।नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारीबीचको सहमतिअनुसार युनियनको भागमा परेको कोषाध्यक्ष पद माओवादी निकट प्रेस सेन्टरलाई बेचेकोलगायत दर्जनौं आरोप लगाउदै प्रदेश अध्यक्ष श्रेष्ठले अध्यक्ष यादवमाथि कारबाहीको लागि मंगलवार युनियनको केन्द्रीय अनुशासन विभागमा पत्राचार गर्नुभएको हो ।

पत्रमा भनिएको छ– ‘प्रेस युनियनका साधारण सदस्यहरुलाई गालीगलौज, धाकधक्कु र कारबाहीको धम्की दिने गरेको, महासंघको निर्वाचनमा आफुखुसी टिकट वितरण गरेको, युनियनको नाममा अवैध पैसा असुली जस्ता गतिविधिमासमेत संलग्न भएको पाइएको छ ।’सो पत्रको वोधार्थ नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा समेत दिइएको जनाइएको छ ।
यादवले आफनो स्वार्थ सिद्ध गर्ने गरि नेपाली नागरिकताको प्रमाण पत्र नभएका संदिप यादवलाई नेपाल प्रेस युनियनको सदस्यता दिएको, विगत ६ वर्ष अगाडिदेखि पत्रकारिता पेसा छोडेर बित्तीय संस्थामा काम गरिरहेका रबिन्द्रप्रसाद साहलाई नेपाल प्रेस युनियनको जिल्ला कार्यसमितिमा राखेको,नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानमासमेत आफनो स्वार्थ सिद्ध गर्ने गरी सदस्य कायम गराउने जस्ता कार्य गरेको श्रेष्ठको आरोप छ ।

त्यसैगरी रवि लामिछाने नेतृत्वको रास्वपा पार्टीमा लागेका र लामिछानेको स्वकीय सचिव रहेका अविनास आचार्यलाई प्रेस युनियनमा कायम राखेको र सोही पार्टीमा सक्रिय बनेका नेपाल प्रेस युनियनका बारा जिल्ला उपाध्यक्ष बसन्त खतिवडालाईसमेत आजसम्म कुनै कारबाही नगरेकोले यादवमाथि कारबाहीको लागि सिफारिस गरिएको मधेस प्रदेशको अध्यक्ष श्रेष्ठद्वारा सिफारिस गरिएको पत्रमा उल्लेख छ ।महासंघको निर्वाचन सम्पन्न भएको करिब २ सातापछि नेपाल प्रेस युनियनको ब्यानरमा आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा महासंघको केन्द्रीय समिति सदस्य पदमा निर्वाचित सिकेन्द्र पासवान, बारा शाखाकी उपाध्यक्ष प्रियन्का दासलाई दोसल्ला ओढाएर सम्मान गरेकोमा हाल आएरउनीहरुमाथि नै स्पष्टीकरण सोध्ने जस्ता अपरिपक्क,अमर्यादित काम गरेर युनियन बाराका अध्यक्ष यादवले प्रेस युनियनको मान मर्दन गर्ने जस्ता कार्य गरेकाले कारबाहीको लागि गरिएको सिफारिस पत्रमा उल्लेख छ ।

Leave a Reply