जनकपुरधाम –  जनकपुरधाममा राजगुठी अन्तर्गतका पोखरी र पोखरी डिलमा बनाइएका संरचना हटाउन सूचना जारी भएसँगै स्थानीय आन्दोलित बनेका छन् । जनकपुरधाम वडा नम्बर १४, रजौलस्थित लब्की पोखरी आसपासका बासीहरुले जग्गा किनेर घर बनाएको, त्यसको कर तिर्ने गरेको, बिजुली तथा पानीको बिल लगायतका सबै सरकारी कागजात हुँदाहुँदै आफूहरूलाई घर खाली गर्न पत्र पठाइएको भन्दै आपत्ति जनाएका छन् । घर खाली गर्न सूचना दिइएसँगै आन्दोलित उनीहरूले आज पिडारी चोकमा एक घण्टाभन्दा बढी समय राजमार्ग अवरुद्ध गरेका थिए ।

सो क्रममा उनीहरूले सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई हटाएको थियो । गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदल २०६२ को प्रतिवेदन कार्यान्वयन समितिले गत शुक्रबार उपमहानगरपालिका भित्रका १५ वटा पोखरी र पोखरीको डिलमा निर्माण गरिएका संरचना ७ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । समितिले सूचनामा भनेको थियो, ‘तोकिएको समयसिमा भित्र खाली नगरे कानुन अनुसार खाली गराइनेछ ।’

सूचना अनुसार पोखरी डिलमा निर्माण गरिएका घरहरू भत्काइने त्रासमा रहेका स्थानीयहरू सडक आन्दोलनमा उत्रिएका हुन । आन्दोलनमा सहभागी राजोदेवी मण्डलले २६ वर्षदेखि जग्गा किनेर घर बनाएर बसेकोमा एक्कासि सरकारले भत्काउने सूचना पठाएपछि आफूहरू मर्कामा परेको बताउनुभयो । सोही स्थानका अर्का स्थानीय धर्मराज यादवले आफूहरू बसोबास गरेको जग्गा गुठीको नभएको र २०४६ को नापी अनुसार लालपुर्जा पाउनुपर्नेमा उल्टै भत्काउने सूचना जारी हुनु आफैँमा त्रुटिपूर्ण रहेको बताउनुभयो ।

स्थानीय गृहिणी पेमा देवीले आफूहरू बसेको जग्गा अतिक्रमण गरेको नभइ किनेर बसेको बताउनुभयो । ‘अहिले सरकारले गर्न खोजेको पोखरीको सौन्दर्यकरणको विरोधी हामी होइनौँ । व्यवस्थित बनाउनुपर्छ, तर थातथलो नै उठाउने गरी स्थानीयबासीको बस्ती हटाउने कुरा हामीलाई मान्य छैन ।’ उहाँले भन्नुभयो । स्थानीय वडा सदस्य रमेशकुमार साहले अतिक्रमण हटाउने नाममा राज्यले स्थानीयबासीलाई आतङ्कित बनाउने काम गरेको आरोप लगाउनुभयो ।

समितिले खाली गराउन सूचना जारी गरेको लब्की पोखरीको डिलमा ४२ वटा कच्ची तथा पक्की घरहरू रहेको वडासदस्य साहले जानकारी दिनुभयो । गुठी संस्थानले २०४६ सालको स्रेस्ता हेर्ने हो भने सबै प्रमाणित हुने भए पनि त्यो हेर्नतर्फ ध्यानै नदिएको उहाँको गुनासो छ । स्थानीयबासीहरूले यसमा पुनः छानबिन गरी सत्यतथ्य निकाल्न माग गरेका छन् । छानबिनबाट प्रमाणित भए आफूहरू सहजै रूपमा त्यो क्षेत्र खाली गरिदिने उनीहरूको भनाइ छ ।

गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदल २०६२ को प्रतिवेदन कार्यान्वयन समितिले भदौ १९ गते सार्वजनिक सूचना जारी गर्दै जनकपुर उपमहानगरपालिकाभित्र रहेका देवान पोखरी (चन्द्र कूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्नि कुण्ड, सीता कुण्ड, विहार कुण्ड, देवान पोखरी (चन्द्र कूप) लगायतको अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

Leave a Reply