निजगढ,नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफुहरु पार्टी एकता कायम राख्ने कार्यमा लागिरहेको बताउनुभएको छ ।
पार्टी कार्यक्रममा सहभागी हुन सर्लाही जिल्लातर्फ जाने क्रममा शुक्रबार निजगढका अगुवा कार्यकर्ताहरुसंग कुरा गर्दै पाण्डेले सो कुरा बताउनु भएको हो । एमालेले गठन गरेको कार्यदलको सदस्य समेत रहनुभएका पाण्डेले पार्टीलाई एकतावद्ध पार्न आफुहरुले नथाकिकन काम गरिरहेको बताउनुभयो । उहाँले पार्टीभित्र देखा परेको अहिलेको समस्या अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ अध्यक्ष माधवकुमार नेपालको इगोको कारणले थप जटिल बनेको पनि बताउनुभयो । नेता पाण्डेले कार्यदलका सदस्यहरुले पार्टी विवाद अन्त्य गर्न इमान्दारिताका साथ काम गरिरहेको भन्दै अध्यक्षको हैसियतमा समस्या हल गर्न अध्यक्ष ओलीले नै सबैभन्दा बढी जिम्मेवार बन्नु पर्ने पनि बताउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, ढुण्डिराज उप्रेती, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने, नगरकमिटी सदस्य थानेश्वर सापकोटा, लक्ष्मी गौतम, सम्झना थापा, चण्डिका उपे्रती, निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन बडाललगायत कार्यकर्ताहरुले पार्टीमा उत्पन्न अवस्था र पार्टी एकता बारे जिज्ञासा राखेका थिए । कार्यक्रममा एमाले नेता पुरुषोत्तम पौडेल, नेकपा एमाले सर्लाही जिल्ला अध्यक्ष रेवति पन्तलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।