वीरगञ्ज,वीरगञ्जमा नै परीक्षा केन्द्र कायम गरिनुपर्ने माग गर्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका विद्यार्थीहरु रिहा भएका छन् । ईलाका प्रहरी कार्यालय सिमराले सिमरा कलेजबाट नियन्त्रणमा लिएका ७ जना विद्यार्थीहरुलाई मंगलवार साँझ रिहा भएका हुन् ।वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बाराको कलेजमा परेपछि आन्दोलनरत नेपाल विद्यार्थी संगठन क्याम्पस ईकाईका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियु क्याम्पस ईकाई कमिटीका उपाध्यक्ष अर्मान हास्मी, कमलेश यादव र बिशाल पटेललाई पक्राउ गरेर रिहा गरिएको अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदले जानकारी दिनुभयो ।वीरगन्जमा परीक्षा केन्द्र कायम नगरिएसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष अहमदले बताउनुभएको छ । उहाँकाअनुसार परीक्षा केन्द्र कायम गर्नुपर्ने मागमा सयुँक्त विद्यार्थी संगठनले संघर्षको थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।


















