सिमरा,आवादी गर्न भनेर अज्ञात व्यक्तिहरुले फडानी गरेको कोल्हबी नगरपालिकाको वडा नं.५ स्थित रामवनको अतिक्रमित जमिनमा वन कार्यालयले वृक्षारोपण गर्ने भएको छ ।जिल्ला वन सुरक्षा समितीका अध्यक्ष तथा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा डिभिजन वन कार्यालय सिमराको सभा हलमा बसेको बैठकले सो क्षेत्रको ७ हेक्टर क्षेत्रफलको अतिक्रमित जग्गामा वृक्षारोपण गर्ने निर्णय गरेको हो । वन कार्यालयले दुई वर्षअघि रामवन क्षेत्रको ५.३ हेक्टर क्षेत्रफलमा गरेको वृक्षारोपण गत फागुन महिनामा केही ब्यक्तिहरुले बिरुवा मासेर जग्गा हडप्ने योजना बनाएका थिए ।घटनामा सलग्ंन रहेको आरोपमा वन कार्यालयले वडा नं.५ का वडाध्यक्ष नन्दकिशोर चौधरीसहित केही ब्यक्तिलाई पक्राउ गरि उनीहरुमाथि मुद्धा समेत चलाएको थियो । पक्राउ परेका वडा अध्यक्ष जिल्ला अदालतबाट २ लाख धरौटी तिरेर छुटेका छन् । डिभिजन वन कार्यालयले उक्त क्षेत्रमा तारबार सहित वृक्षारोपण गर्न काँडे तार र पोल तयारी अवस्थामा राखिएको डिभिजन वन अधिकृत विनोद सिँहले जानकारी दिनुभयो ।असार मसान्तसम्ममा वृक्षारोपण गरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यता बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले पहिलो चरणमा ७ हेक्टर क्षेत्रफलको जग्गामा वृक्षारोपण गर्ने भनिए पनि त्यस वरपर रहेका वनको अतिक्रमित सम्पुर्ण जग्गाहरु सुकुम्बासीको नाममा बसेका हुकुमबासीहरुको कब्जाबाट छुट्इने र सबै क्षेत्रमा वृक्षारोपण गरिने आश्वासन दिनुभएको छ ।जिल्लाको विभिन्न ठाउँमा रहेका वनका अतिक्रमित जग्गाहरु वन कार्यालयको मातहत ल्याउने कार्य विस्तारै सुरु हुने उहाँको भनाइ छ । बैठकमा बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्री, कोल्हबी नगरपालिकाको नगरप्रमुख रामप्रसाद चौधरी, पूर्वनगरप्रमुख भरत भण्डारी लगायतको सहभागिता रहेको थियो ।















