बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ थलही पुल नजिकै भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । हुलाकी मार्गमा पर्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा परी १ बालिकासहित २ जना घाइते भएका हुन् ।
लंगडा चोकबाट कलैयातर्फ आउँदै गरेको प्रदेश न.२–००३–००५ प ८५६० नम्बरको मोटरसाइकलले पैदलयात्री एक बालिकालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी सुधनप्रसाद यादवकी १० वर्षीय छोरी चाँदनी कुमारी र मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसकपुर निवासी २७ वर्षीय निकेश प्रसाद जयसवाल घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घाइते दुवै जनाको टाउको, हातखुट्टा, ढाड लगायतमा चोट लागेको र उनीहरु दुवै जनाको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । मोटरसाइकललाई भने प्रहरी चौकी बरियारपुरले नियन्त्रणमा लिएको छ ।