वीरगञ्ज,सर्वाेच्च अदालतमा विचाराधिन वीरगञ्ज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तार सम्बन्धि मुद्दाको सुनुवाइ फेरि सरेको छ ।त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै नेपाल भारत सीमाको मितेरीपुलसम्मको मुख्य सडक विस्तारको मुद्दा पेसी आइवारका लागि थियो । तर सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाई फेरि हेर्न नभ्याइनेमा राखेपछि २४ औं पटक उक्त मुद्दाको पेसी सरेको हो ।
वीरगञ्जको मुख्य सडक विस्तारको मुद्दाको पेसी आइतबार सर्वोच्च अदालतका न्यायधिशद्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलाशमा परेको थियो । न्यायाधिशद्वयको इजलासमा यसअघि शुक्रवारकै मुद्धा सुनुवाईको निरन्तरता रहेकाले १ नम्बरमै परे पनि वीरगञ्ज सडक विस्तारको मुद्दा भने हेर्न नभ्याइनेमा रहन पुगेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।निवेदक लक्ष्मण साह रौनियार, राजकुमारी देवी तुलस्यान, भरतप्रसाद रौनियार र वीरेन्द्रकुमार संघाईले दायर गरेको रिट आइतवारको पेसीमा पहिलो नम्वरमा परेको थियो ।
सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै सडक विस्तार गर्ने तयारी गरे पनि त्यस आसपासका घर धनीहरु बाधक बन्दै आएका छन् ।२०७६ भदौमा निकालेको १५ दिने सूचनाको म्याद सकिएपछि फेरि म्याद दिएर आयोजना कार्यालयले घर धनीलाई आफ्नो घर आफैं भत्काउन आग्रह गरेको थियो । सडक विस्तार आयोजनाले पहिलो चरणमा नापीको कामसमेत सम्पन्न गरिसकेको छ ।



















