हेटौंडा, ०८ असोज ।
विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ । उद्योग सञ्चालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा केही दिनदेखि उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको उद्योगका नायब महाप्रबन्धक एवं प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए ।

बोलपत्र आह्वान गरी कोइला आपूर्तिकर्तालाई ६ हजार मेट्रिकटन कोइला उपलब्ध गराउन आग्रह गरिएको भए पनि हाल १ हजार १ सय ५० टनमात्रै कोइला आपूर्ति भएको उनले बताए ।

‘उद्योगले पटक–पटक गरेर कोइला आपूर्ति गर्दै आएको छ । थोरै मगाएर उद्योग सञ्चालन गर्ने र सकिन लागेपछि पुनः बोलपत्र आह्वान गर्ने चलन छ । यसपटक कोइला आपूर्ति समयमा हुन सकेन । त्यसकारण उद्योग सञ्चालन गरी उत्पादनलाई निरन्तरता दिन कठिनाइ भएको हो’, प्रवक्ता कर्णले भने ।

उद्योगका कर्मचारीहरूका अनुसार एक महिनादेखि उत्पादन बन्द रहेको छ । हाल उद्योगको भण्डारण कक्षमा १ हजार १ सय ५० मेट्रिकटन मात्रै कोइला उपलब्ध छ । महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ ।

Leave a Reply