निजगढ,नेकपा एमाले मधेस प्रदेश कमिटीले मधेसमा जारी चिसो र शीतलहरबाट पीडित नागरिकहरूको जीवन सुरक्षाको लागि तत्काल पहल गर्न ३ वटै तहका सरकारसंग माग गरेको छ ।नेकपा एमाले मधेस प्रदेश कमिटी कार्यालय (पदाधिकारी) को जनकपुरमा सोमवार सम्पन्न बैठकले यस्तो माग गरेको हो ।बैठकले शीतहलर र ठण्डीका कारण कठाङ्गिएर सर्वसाधारणको मृत्यु भएको समाचार सार्वजनिक भइरहेको हुनाले नागरिकको जीवन जोगाउन तत्काल न्यानो कपडा, आगो ताप्ने दाउरा र उचित राहतको व्यवस्था गर्न स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारसँग माग गरेको छ ।
बैठकले मधेस प्रदेशका आठवटै जिल्ला कमिटीको जिल्ला परिषद बैठक र जिल्ला अधिवेशन गर्ने मिति पनि निर्धारण गरेको छ ।मधेस प्रदेस कमिटीका सचिव मनोज पौडेलले दिएको जानकारी अनुसार बैठकले महोत्तरीमा माघ २२ र २३ गते, रौतहट माघ २५ र २६ गते र पर्सा माघ २८ र २९ गते र बारा फागुन १२ र १३ गते जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय भएको छ । उहाँले जिल्ला अधिवेशनलाई भव्य रुपमा सफल पार्न सम्बन्धित जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय पनि गरेको जानकारी दिनुभयो ।साथै बैठकले सर्लाही, धनुषा, सिराहा र सप्तरीको जिल्ला अधिवेशन भने आगामी चैत्र महिनाको पहिलो साताभित्र गरिसक्ने गरी तयारी सुरु गर्न पनि जिल्ला कमिटीलाई निर्देशन दिएको एमाले मधेस प्रदेश कमिटीका सचिव पौडेलले बताउनुभएको छ ।बैठकले रौतहटमा माघ १८ गते जिल्ला प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने कार्यतालिका बनाएको छ । त्यसैगरी बारामा माघ २० गते, पर्सा माघ २१ गते, सर्लाही र सिराहा फागुन ५ गते, धनुषा र सप्तरीको फागुन ७ गते जिल्ला प्रतिनिधि परिषदको बैठक गर्ने निर्णय भएको सचिव पौडेलले जानकारी दिनुभयो ।
बैठकले प्रदेश अधिवेशनको बखत नवीकरण भई केन्द्रबाट प्रमाणीकरण भएर आएका सदस्यहरूबाट नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको सचिव पौडेलले जानकारी दिनुभएको छ ।नेकपा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष चण्डेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिव तथा मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, लिलानाथ श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली र केन्द्रीय सदस्य सरोज यादवसहित जिल्ला अध्यक्षहरूको उपस्थिति रहेको थियो ।



















