निजगढ,बारा जिल्लाको निजगढमा बुधवार चाइना मिडिया ग्रुप (सिएमजी) ले तयार पारेको संक्षिप्त वृत्तचित्रहरु प्रदर्शन गरिएको छ ।नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले निजगढ नगरपालिका वडा नम्बर ४ स्थित श्रीजनकल्याण आधारभूत विद्यालयमा सिएमजीले तयार पारेको वृत्तचित्र प्रदर्शन गरिएको हो ।
चाइना मिडिया ग्रुप (सीएमजी) ले नेपाल– चीन मैत्री सम्बन्ध झल्किने वृत्तचित्रहरु एआईको सहयोगमा तयार पारेर विद्यालयका विद्यार्थी र शिक्षकहरुबीच प्रदर्शन गरेको हो ।
चीनमा छायाङ्कन गरिएका वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बत अर्थात् सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको जीवनशैली, तिब्बती पठारभूमिमा कृषि उत्पादनका लागि प्रयुक्त विज्ञान प्रविधि, तिब्बती आली प्रिफेक्चर र नेपालका हुम्लालगायत सीमावर्ती जिल्लाबीचको सीमा व्यापार, एआई प्रविधिको सहयोगमा निर्मित नेपाल–चीन सम्पदा संवाद र चिनियाँ नव वर्ष गालासम्बन्धी मनोरञ्जनात्मक सामग्रीहरू समावेश छन ।विद्यालयकी शिक्षिका शोभा खड्काले भिडियो बालबालिकाका लागि हेर्न लायक रहेको बताउनुभयो । विशेष गरी गर्मी मौसममा कसरी जोगिने, नेपाल चीनबीचको मित्रता कस्तो रहेछ भन्ने बुझ्न छोटा भिडियोले लामो जानकारी पस्किएको खड्काको भनाई थियो । उहाँले भन्नुभयो, ‘भिडियोहरु बच्चाहरुको सिकाइका लागि अर्थपूर्ण छन ्। यस्ता कार्यक्रम भविष्यमा पनि हेर्न पाइने आशा छ ।’
छोटा छोटा भिडियो सामग्रीमार्फत् बालबालिकाका लागि बुझाइ र सिकाइ सहज हुने भएकाले यस्तो कार्यक्रम डिजाइन गरिएको बेइजिङबाट आएका सीएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले बताउनुभयो । उहाँका अनुसार विज्ञान प्रविधिको प्रयोग गरी एआईद्वारा निर्मित छोटा भिडियोले नेपाल चीन सम्बन्धबारे सजिलोसँग बुझ्न सकिनेछ ।
नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत पूर्वजहरुको अतुलनीय योगदान छ । वर्तमानमा पनि मूर्त, अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानले नेपालले छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम राखेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक सोमबहादुर कार्कीका अनुसार सिएमजीका भिडियो अवधारणाबाट चेतनामूलक भिडियो प्रदर्शनी सकारात्मक छ । सोही विद्यालयकी शिक्षिका हेमकुमारी खड्काले वृत्तचित्र हेरेपछि नेपाल र चीनबीचको मित्रता निकै गहिरो रहेको भन्ने कुरा थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिमेकी भएर पनि भाषिक कठिनाइले चीनबारे थाहा पाउन गाह्रो थियो । सिएमजीले नेपाली भाषामा बनाएको वृत्तचित्र हेरेर चीनको बारेमा धेरै कुरा थाहा पाइयो ।’भिडियोबाट चीनका विभिन्न स्थानको रंगीन र रमणीय दृष्य देख्न पाएको छात्रछात्राहरुले बताएका छन । वृत्तचित्र अवलोकन गर्नेमा ससाना बालबालिकादेखि ६, ७, ८ कक्षामा अध्ययनरत किशोर किशोरी, विद्यालयका शिक्षक शिक्षिकालगायत थिए ।सिएमजी नेपाली सेवाले यस प्रकारका संक्षिप्त वृत्तचित्र काठमाडौंका विद्यालयहरुमा पनि प्रदर्शन गरेको थियो ।


















