निजगढ,सांसद अच्युतप्रसाद मैनालीले वन्यजन्तु पीडितलाई राहत र क्षतिपुर्तिको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ठूलो जनसंख्या वन्यजन्तुको आक्रमणबाट पीडित हुँदै आएकाले यसमा लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप कानुनमा संशोधनको समेत आवश्यक औंल्याउनुभयो ।
बैठकमा उहाँले भन्नुभयो, ‘दिनहुँजसो सम्मानित यस सदनमा वन्यजन्तु र मानवबिचको द्वन्द्व तथा मानव क्षतिको विषयमा आवाज उठिरहेको छ । बारा,पर्सा, चितवन, बर्दिया जिल्ला लगायत देशका विभिन्न भूभागमा वन्यजन्तुको आक्रमणबाट सयौले ज्यान गुमाउनुपरेको छ।’
कुल भूभागको ४६ प्रतिशत वनले ओगटेको देशका वहुसंख्यक नागरिक वनको वरिपरी बस्ने, घाँसदाउरा तथा चौपाया चरण गरी जीविकोपार्जनको लागि वनमा जानु पर्ने र आवतजावतमा समेत वनमार्गको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्थामा वन्यजन्तुबाट पीडितले आवश्यक राहत पाउनुपर्नेमा उहाँको जोड छ ।उहाँले हालको मौजुदा ऐनमा वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते बनाएमा राहतको लागि अनिवार्य अपांगता प्रमाण पत्र लिनुपर्ने व्यवस्था गरिनुपर्ने पनि बताउनुभयो ।
सांसद मैनालीले अगाडि भन्नुभयो, ‘गैडाले घर पालुवा जनावरलाई पु¥याएको क्षतिको राहतको व्यवस्था नभएको र वन सीमामा भएको मानव क्षतिको राहतको व्यवस्था नभएकोले लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप कानुनमा आवश्यक परिमार्जन गरी पीडितलाई राहत र क्षतिपुर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण सहित जोडदार माग गर्दछु ।’
















